सुर्खेत। कर्णाली प्रदेश सरकारमा मन्त्री चयनको विषयलाई लिएर सत्ताारूढ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवाद चुलिएपछि यो विषय पार्टी केन्द्रीय नेतृत्व (हेडक्वाटर) को जिम्मा लगाइएको छ। भागमा परेका तीन मन्त्री छान्न तीव्र सकस भएपछि प्रदेश नेतृत्वले निर्णयका लागि केन्द्र गुहारेको हो।
मन्त्री चयनकै किचलोका कारण सोमबार बिहान ११ बजेका लागि तय भएको नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम अन्तिम समयमा रद्द गरिएको छ। नेकपा संसदीय दलका नेता एवं मुख्यमन्त्री मङ्गलबहादुर शाहीले सोमबार बिहान ११ बजे प्रदेश प्रमुखको कार्यालयमा मन्त्रीहरूको शपथका लागि समय मागेका थिए। सोही अनुसार प्रदेश प्रमुखको कार्यालयले सरोकारवालाहरूलाई निमन्त्रणासमेत पठाइसकेको थियो।
तर, बिहान १० बजेसम्म पनि मन्त्री बन्ने सांसदहरूको नामावली सिफारिस हुन नसकेपछि मुख्यमन्त्री शाही आफैं प्रदेश प्रमुखको कार्यालय पुगेर कार्यक्रम पछाडि सार्न आग्रह गरे। पार्टीभित्र सहमति जुट्न नसकेकाले शपथ कार्यक्रम स्थगित गरिएको हो। सोमबार विन्दमान विष्ट, जुम्कित लामा र मिलन खड्काले मन्त्रीको शपथ लिने चर्चा पार्टीभित्र चलेको थियो।

प्रदेश प्रमुख यज्ञराज जाेशीबाट नियुक्तिपत्र बुझ्दै मुख्यमन्त्री शाही
नेकपाभित्र मन्त्री चयनमा मुख्य गरी साविकका दुई घटक (माओवादी र एकीकृत समाजवादी) बीच शक्ति सन्तुलन मिलाउन नसक्दा तनाव सिर्जना भएको हो । १३ सिट रहेको नेकपाभित्र साविक एकीकृत समाजवादीबाट समानुपातिक सांसद कल्याणी खड्का छिन्। पार्टीका प्रदेश इन्चार्ज चन्द्रबहादुर शाहीले पार्टी एकताको मर्म र सम्मानजनक उपस्थितिका लागि खड्कालाई मन्त्री बनाउनुपर्ने अडान राखेका छन्। साविक माओवादी धार भने आफ्नै तर्फबाट मन्त्री बनाउन चाहन्छ। तर, माओवादीभित्रका धेरैजसो सांसदहरू मन्त्रीका आकाङ्क्षी बनेकाले आन्तरिक सहमति जुट्न सकेको छैन।
प्रदेश स्तरमा सहमति जुट्न नसकेपछि मन्त्रीका आकाङ्क्षी करिब ७ जना सांसदहरूको नाम केन्द्रमा पठाइएको छ। नेकपाका प्रदेश इन्चार्ज चन्द्रबहादुर शाहीका अनुसार अब पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह-संयोजक माधवकुमार नेपालले नै कर्णालीका बाँकी तीन मन्त्रीको नाम टुङ्गो लगाएर पठाउनेछन्। भागबन्डा अनुसार नेकपाको भागमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय परेका छन्।
प्रतिक्रिया दिनुहोस्