सुर्खेत। ज्यान जोखिममा परेका बझाङ र कालीकोटका दुई जटिल सुत्केरी महिलालाई बिहीबार नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी सुर्खेतस्थित प्रदेश अस्पताल ल्याइएको छ। स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि दुवै जनालाई थप उपचारका लागि तत्काल हवाई उद्धार गरिएको हो।
उद्धार गरिएका महिलाहरूमा बझाङको साइपाल गाउँपालिका–३ की ३५ वर्षीया रितु बोहरा र कालीकोटको त्रिवेणी गाउँपालिका–७ की २३ वर्षीया विनिता प्याकुरेल रहेका छन्।

दुवै महिलामा प्रसूतिसम्बन्धी गम्भीर जटिलता देखिएको थियो। साइपाल र त्रिवेणीका स्थानीय स्वास्थ्य केन्द्रहरूमा आवश्यक स्रोत र साधनको अभावका कारण उपचार हुन नसकेपछि उनीहरूलाई सम्बन्धित गाउँपालिकाबाटै हेलिकोप्टरमा राखी सुर्खेत पुर्याइएको हो। सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालका अनुसार दुवै सुत्केरीको अवस्था जोखिमपूर्ण रहेकाले विशेषज्ञ चिकित्सकको टोलीले उपचार सुरु गरिसकेको छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ मार्फत दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको आपत्कालीन हवाई उद्धार गरिँदै आएको छ। विशेष गरी दुर्गम हिमाली तथा पहाडी भेगमा जटिल प्रसूति, अत्यधिक रक्तस्राव, उच्च रक्तचाप र अन्य ज्यान जाने जोखिमयुक्त अवस्था सिर्जना हुँदा यो कार्यक्रमअन्तर्गत निःशुल्क हेलिकोप्टर सेवा उपलब्ध गराउने व्यवस्था छ।
प्रतिक्रिया दिनुहोस्