२०८३ भदौ २८ , आइतबार
स्थानीय खबर

कम्प्युटर इन्स्टिच्युटहरूलाई प्रोत्साहन गर्न क्यानकाे माग



सुर्खेत । क्यान महासंघ नेपाल सुर्खेत शाखाले कम्प्युटर इन्स्टिच्युटहरूलाई प्रोत्साहन गर्न वीरेन्द्रनगर नगरपालिकासँग माग गरेको छ । बुधबार नगरप्रमुख मोहनमाया ढकाललाई मागपत्र बुझाउँदै क्यानले यस्तो माग राखेको हो । डिजिटल शिक्षा, सूचना प्रविधि तथा सीप विकासमा योगदान पु¥याइरहेका कम्प्युटर इन्स्टिच्युटहरूलाई व्यवसायमैत्री नीति अवलम्बन गरी प्रोत्साहन गर्न माग गरेको क्यान सुर्खेतका अध्यक्ष डिबी रानाले जानकारी दिए ।
क्यानले नगरपालिका तथा वडा कार्यालयबाट एउटै व्यवसायमा लगाइएको दुइ शिर्षकको करलाई अन्य व्यवसाय सरह व्यवस्थापन गर्न, कम्प्युटर इन्स्टिच्युटहरूको व्यवसाय कर पुनरावलोकन गरी व्यवसायको प्रकृति, लगानी, आम्दानी तथा सेवा क्षेत्रलाई आधार मानी न्यायोचित कर निर्धारण गर्न माग राखेको छ । त्यस्तै कर निर्धारण गर्दा सम्बन्धित व्यवसायी, क्यान महासंघ तथा सरोकारवालासँग छलफल तथा परामर्श गर्ने व्यवस्था गर्न र हाल निर्धारण गरिएको व्यवसाय करको दर पुनः अध्ययन गर्न विशेषज्ञ तथा सरोकारवालासहितको कार्यदल गठन गर्न समेत माग राखेको छ । माग पत्र बुझ्दै मेयर ढकालले ब्यबसायीक समस्या सम्बोधनको लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।


क्यान शाखामा आबद्ध कम्प्युटर इन्स्टिच्युट, कम्प्युटर व्यवसाय, आईटी सेवा प्रदायक तथा प्रविधि क्षेत्रमा आबद्ध व्यवसायीहरूले स्थानीय स्तरमा रोजगारी सिर्जना, डिजिटल शिक्षा विस्तार तथा दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका छ । वीरेन्द्रनगर नगरपालिका अन्तर्गत सञ्चालनमा रहेका कम्प्युटर इन्स्टिच्युटहरूले व्यवसाय कर सम्बन्धमा गम्भीर समस्या भोगिरहेका छन् । विशेष गरी नगरपालिका तथा वडा कार्यालयबाट एउटै व्यवसायमा छुट्टाछुट्टै रूपमा व्यवसाय कर माग गर्ने, पत्राचार गर्ने तथा कर असुली प्रक्रिया अघि बढाउने कार्यले व्यवसायीहरूमा आर्थिक भार थप सिर्जना गरेको छ ।
कम्प्युटर इन्स्टिच्युटहरूलाई निर्धारण गरिएको व्यवसाय करको दर व्यवसायको वास्तविक प्रकृति, लगानी, कारोबार तथा आम्दानीको अवस्थासँग मेल खाएको छैन ।

प्रकाशित मिति : २०८३ भदौ ३ गते बुधबार