२०८३ भदौ २९ , सोमबार
जाजरकाेटकाे पहिराेबारे समितिमा चासाे

पुनर्स्थापना र अत्यावश्यक सेवा सञ्चालनमा गर्न सरकारलाइ आग्रह



सुर्खेत। कर्णाली प्रदेशसभा अन्तर्गतको प्रदेश मामिला समितिको बैठक मङ्गलबार (भदौ २ गते) बसी साउन अन्तिम साता जाजरकोटमा गएको विनाशकारी पहिरोपछि प्रदेश सरकारले गरेका उद्धार, राहत तथा पुनर्स्थापना सम्बन्धी कामकारबाहीको समीक्षा गरेको छ। बैठकमा पहिरोका कारण अवरुद्ध बनेका सडक, खानेपानी, सिँचाइ र विद्युत्‌जस्ता अत्यावश्यक सेवाहरू तत्काल सञ्चालनमा ल्याउने विषयमा गहन छलफल भएको छ।समितिको बैठकमा बोल्दै जाजरकोटबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य बेदराज सिंहले भदौ २ गतेका लागि तय भएको पूर्वनिर्धारित प्रदेशसभा बैठक स्थगन गरिएकोप्रति तीव्र असन्तुष्टि जनाउँदै खेद प्रकट गरेका छन्। जाजरकोटको यति गम्भीर विपद् र नागरिकका समस्याबारे सदनमा बहस हुनुपर्ने समयमा बैठक रोकिनुले जनभावनाको कदर हुन नसकेको उनको भनाइ थियो।

विपद्को यो कठिन समयमा प्रदेशसभालाई प्राथमिकताका साथ सञ्चालन गर्नुको सट्टा स्थगन गरिनु गैरजिम्मेवारपूर्ण कदम भएको सांसद सिंहले बताए। उनले जनताका पिरमर्का र आवाज उठाउने मुख्य थलो मानिने प्रदेशसभालाई अनपेक्षित रूपमा रोकेर अनिर्णयको बन्दी बनाइएको सिंहको टिप्पणी गर्दै संकटका बेला जनप्रतिनिधिले सदनमार्फत सरकारलाई ध्यानाकर्षण गराउन नपाउँदा सरकार र व्यवस्थाप्रति नागरिकको भरोसामाथि गम्भीर ठेस पुगेको उनले दाबी गरे।

प्रदेश मामिला समितिले जाजरकोट पहिरो प्रभावित क्षेत्रमा सरकारले हालसम्म गरेका राहत तथा उद्धार कार्यको जानकारी लिँदै आगामी दिनको विपद् प्रतिकार्य र पुनर्स्थापनालाई अझ प्रभावकारी र द्रुत बनाउनुपर्ने निष्कर्ष निकालेको छ। विशेष गरी पहिरोग्रस्त क्षेत्रमा दैनिक जनजीवनसँग जोडिएका खानेपानी, सडक सञ्जाल, विद्युत् र सिँचाइका पूर्वाधारहरू तत्काल पुन:सञ्चालनमा ल्याउन समितिले प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ।

प्रकाशित मिति : २०८३ भदौ २ गते मंगलबार