२०८३ भदौ २९ , सोमबार
अधिकारीको ‘कश्यप ज्योतिःसार’ लोकार्पण

ज्योतिषीय ज्ञान र स्थानीय संस्कृतिको प्रवर्द्धनमा जोड



सुर्खेत। ज्योतिष पण्डित खगेन्द्रप्रसाद अधिकारीद्वारा लेखन तथा सङ्कलन गरिएको ज्योतिष विषयक ग्रन्थ ‘कश्यप ज्योतिःसार’ को एक समारोहका बीच लोकार्पण गरिएको छ। कार्यक्रममा ज्योतिष शास्त्रको वैज्ञानिक महत्त्व, यसको व्यावहारिक उपयोगिता र स्थानीय संस्कृति संरक्षणमा ग्रन्थको योगदानबारे गहन चर्चा गरियो। लामो समयदेखि ‘कश्यप पञ्चाङ्ग’ प्रकाशन गर्दै आएका लेखक अधिकारीको यो नयाँ कृतिले ज्योतिष शास्त्रको अध्ययन र आकलनलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।

कार्यक्रमको विशेष आकर्षणका रूपमा कृतिका लेखक खगेन्द्रप्रसाद अधिकारीका पिता तथा गुरु कृष्णप्रसाद अधिकारीले ग्रन्थको लोकार्पण गरे। आफ्नै सन्तानले तयार पारेको कृति विमोचन गर्न पाउँदा जीवनकै ठूलो हर्ष र गर्व महसुस भएको पिता अधिकारीले बताए।

लेखक खगेन्द्रप्रसाद अधिकारीले आफ्ना पिता तथा गुरुबाट प्राप्त ज्ञानलाई निरन्तरता दिँदै उनकै हातबाट कृति लोकार्पण गराउन पाएकोमा खुसी व्यक्त गरे। वर्षा र बाढीजस्ता प्राकृतिक विपत्तिका चुनौतीहरूबाट पछि नहटी अप्ठ्यारो परिस्थितिको सामना गर्दै अघि बढ्नुपर्ने धारणा राख्दै उनले ४४ जिल्लासम्म पुगिसकेको ‘कश्यप पञ्चाङ्ग’ जस्तै यो ग्रन्थ पनि नयाँ पुस्ताका लागि उपयोगी साबित हुने विश्वास व्यक्त गरे।

नेपाल ज्योतिष परिषद्का केन्द्रीय उपाध्यक्ष एवं प्रमुख अतिथि विकास पौडेलले ‘कश्यप ज्योतिःसार’ ग्रन्थ ज्योतिष शास्त्रको संरक्षण, संवर्द्धन र विकासका लागि फलदायी हुने बताए। अधिकारीका कृतिहरूले कर्णालीको मौलिक पहिचान, भाइचारा र सांस्कृतिक सम्बन्धलाई राष्ट्रिय स्तरसम्म जोड्न महत्त्वपूर्ण योगदान पुर्‍याएको पौडेलको भनाइ थियो। नेपाल ज्योतिष परिषद् कर्णाली प्रदेशका अध्यक्ष डा. गौरीशंकर शर्मा, ज्योतिष, पण्डित, समाजसेवी तथा साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको सो कार्यक्रमले ज्योतिषीय ज्ञानलाई आधुनिक र व्यावहारिक ढङ्गले नयाँ पुस्तासम्म हस्तान्तरण गर्नुपर्ने निष्कर्ष निकालेको छ।

प्रकाशित मिति : २०८३ भदौ २ गते मंगलबार