सुर्खेत। सुर्खेत उद्योग वाणिज्य संघको प्रेस सल्लाहकार पदमा नेपाल पत्रकार महासंघ, सुर्खेत शाखाका अध्यक्ष एवं पत्रकार मधुवन बिसी नियुक्त भएका छन्। संघको साउन १९ गते बसेको कार्यसमिति बैठकको निर्णयअनुसार उनलाई सो जिम्मेवारी दिइएको हो। संघका अध्यक्ष हर्षविक्रम खड्काले नवनियुक्त प्रेस सल्लाहकार बिसीलाई नियुक्तिपत्र हस्तान्तरण गरेका छन्।
पत्रकारिता क्षेत्रमा बिसीले पुर्याउँदै आएको योगदान र नेपाल पत्रकार महासंघ सुर्खेतको अध्यक्षका रूपमा उनले निर्वाह गरिरहेको भूमिकालाई मध्यनजर गर्दै यो जिम्मेवारी दिइएको संघले जनाएको छ। संघले विगतदेखि नै पत्रकार महासंघ सुर्खेतका बहालवाला अध्यक्षलाई प्रेस सल्लाहकार नियुक्त गर्ने परम्परालाई निरन्तरता दिएको हो। यस नियुक्तिसँगै निजी क्षेत्र र सञ्चार जगत्बीचको सम्बन्ध थप सुदृढ हुने विश्वास लिइएको छ। उद्योगी-व्यवसायीका समस्या, निजी क्षेत्रका मुद्दा तथा संघका गतिविधिहरूलाई आमनागरिक र सम्बद्ध निकायसमक्ष प्रभावकारी ढङ्गले पुर्याउन प्रेस सल्लाहकारको भूमिका महत्त्वपूर्ण हुने संघको भनाइ छ।

कार्यक्रममा अध्यक्ष हर्षविक्रम खड्काले संघका गतिविधि र उद्योगी-व्यवसायीका समस्यालाई सम्बन्धित निकायसम्म पुर्याउन सञ्चार क्षेत्रसँग निरन्तर सहकार्य आवश्यक रहेको बताए। बिसीको आगमनले संघको संस्थागत प्रचार-प्रसार र सञ्चार समन्वय थप मजबुत हुने विश्वास उनले व्यक्त गरे। त्यस्तै सल्लाहकार बिसीले जिम्मेवारीलाई निजी क्षेत्र र सञ्चार क्षेत्रबीचको सहकार्य मजबुत बनाउने अवसरका रूपमा लिएको बताए। संस्थागत हित, पेसागत मर्यादा र गोपनीयता कायम राख्दै उद्योगी-व्यवसायीका सवाललाई सार्वजनिक बहसमा ल्याउन तथ्यपूर्ण रूपमा भूमिका खेल्ने प्रतिबद्धता उनले जनाए।
प्रतिक्रिया दिनुहोस्