२०८३ भदौ ३१ , बुधबार
पहिरोपीडित शिविरमा फैलियाे रुघाखोकी र ज्वरो

ठूलो महामारीको खतरा, विज्ञद्वारा तत्काल सङ्घीय सहयोगको माग



जाजरकोट। विनाशकारी पहिरोपछि जाजरकोटको भेरी नगरपालिकाका विद्यालय र अस्थायी त्रिपालमुनि आश्रय लिइरहेका ६९१ जना विस्थापितमा रुघाखोकी र तीव्र ज्वरोको सङ्क्रमण फैलिएको छ। भेरी नगरपालिकाका वडा नम्बर १, २, ३ र ४ का ४५० भन्दा बढी घरधुरी विस्थापित भई शिविरमा बसिरहेका बेला सरसफाइ र खानेपानीको सङ्कट उत्पन्न भएको हो। गत शनिबार र आइतबार गएको पहिरोमा परी चार जनाको ज्यान जानुका साथै १० जना घाइते भएका थिए।

अस्थायी शिविरमा सङ्क्रमण फैलिन थालेपछि प्रादेशिक अस्पताल सुर्खेतबाट खटिएको चिकित्सकको टोलीले सोमबार ९० जना बिरामीको उपचार गरेको छ। शिविरमा मुख्य गरी साना बालबालिका, गर्भवती, सुत्केरी महिला र वृद्धवृद्धा बढी प्रभावित भएका छन्।

विस्थापित क्षेत्रमा अविरल वर्षाका कारण खानेपानीका प्रायः सबै मुहान र स्रोत दूषित भएका छन् । एकै ठाउँमा सयौँ मानिस बस्नु परेको र पर्याप्त अस्थायी शौचालय नहुँदा खुला दिसापिसाबको समस्या बढेको छ। दुई साता बित्न लाग्दा पनि मरेका घरपालुवा जनावरको उचित व्यवस्थापन हुन नसक्दा गाउँभरि दुर्गन्ध फैलिएको छ। हाल नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले मृत चौपाया गाड्न सुरु गरेको छ।

मानव विकास सूचकाङ्कमा पछाडि परेको र कुपोषणको समस्या झेलिरहेको जाजरकोटमा यसअघि सन् २००९ मा हैजा तथा सन् २०१५ मा स्वाइन फ्लुको भीषण प्रकोप फैलिएको इतिहास छ। २०८० कात्तिकको भूकम्पले थलिएका बस्तीहरू पुनः पहिरोबाट क्षतविक्षत भएकाले विस्थापितहरू लामो समय शिविरमै बस्नुपर्ने बाध्यता छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा. अमृत पोखरेल र जनस्वास्थ्य विज्ञ डा. बाबुराम मरासिनीका अनुसार विस्थापितहरूलाई चाउचाउ र बिस्कुट जस्ता अस्वस्थकर खानेकुराको साटो स्वच्छ खानेपानी र पोषिलो आहार तुरुन्त पुर्‍याउनु पर्छ। स्थानीय र प्रदेश सरकारको सीमित साधन-स्रोतले स्थिति सम्हाल्न कठिन हुने भएकाले सङ्घीय सरकारले अविलम्ब मेडिकल टोली र आवश्यक सहयोग नपठाए पहिरोबाट जोगिएका नागरिक पानीजन्य र कीटजन्य (डेंगु, मलेरिया, स्क्रब टाइफस) महामारीका कारण ज्यान गुमाउन बाध्य हुने चेतावनी उनीहरूले दिएका छन्।

प्रकाशित मिति : २०८३ भदौ २ गते मंगलबार