२०८३ भदौ २९ , सोमबार
पहिरोपीडितका लागि प्रहरीको सहारा

रिसाङमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन



जाजरकोट। अविरल वर्षाका कारण पहिरोको जोखिममा परेका जाजरकोटको भेरी नगरपालिका–२, रिसाङका प्रभावित स्थानीयवासीलाई लक्षित गर्दै सोमबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। जिल्ला प्रहरी कार्यालय जाजरकोटको आयोजना तथा कर्णाली प्रदेश प्रहरी अस्पताल सुर्खेतको प्राविधिक समन्वयमा स्थानीय त्रिभुवन आधारभूत विद्यालयको प्राङ्गणमा सो शिविर सञ्चालन गरिएको हो। पहिरो तथा बाढीका कारण गाउँमै स्वास्थ्य समस्या झेलिरहेका ८५ जना स्थानीयवासीले शिविरबाट प्रत्यक्ष स्वास्थ्य सेवा लिएका छन्।

शिविरमा आएका बिरामीहरूको स्वास्थ्य परीक्षण गरी उनीहरूको शारीरिक अवस्था र रोगको प्रकृतिअनुसार अत्यावश्यक औषधिसमेत निःशुल्क वितरण गरिएको प्रहरीले जनाएको छ। विपद्को समयमा स्वास्थ्य संस्थासम्म पुग्न सास्ती व्यहोरिरहेका स्थानीयले गाउँमै विशेषज्ञ सेवा पाएका हुन्।

प्रभावित क्षेत्रमा प्रभावकारी र चुस्त स्वास्थ्य सेवा पुर्‍याउन प्रहरीले दक्ष जनशक्ति परिचालन गरेको थियो । कर्णाली प्रदेश प्रहरी अस्पताल सुर्खेतका प्राविधिक प्रहरी नायब उपरीक्षक (DSP) अमितकुमार ठाकुरको कमाण्डमा ६ जना स्वास्थ्यकर्मी र जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक राजेश शाहीको नेतृत्वमा ७ जना प्रहरी कर्मचारीले सेवा दिएका थिए ।

अविरल वर्षापछि रिसाङ क्षेत्रमा पहिरोको जोखिम बढ्नुका साथै सर्वसाधारणको जनजीवन प्रभावित बनेकाले उनीहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी बुद्धिसागर पुरीले बताए। विपद्को कठिन घडीमा प्रभावित नागरिकलाई तत्काल राहत र स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले प्रहरीले सामाजिक दायित्वअन्तर्गत यो अभियान चलाएको उनको भनाइ छ।

प्रकाशित मिति : २०८३ भदौ १ गते सोमबार