२०८३ भदौ २९ , सोमबार
कुटपिट गरी औषधि व्यवसायीको हत्या

घटनामा संलग्न पाँच जना आरोपी पक्राउ



सर्खेत। जाजरकोटको भेरी नगरपालिकामा एक व्यक्तिमाथि मरणासन्न हुने गरी कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। कुटपिटबाट गम्भीर घाइते भएका दैलेखको नारायण नगरपालिका घर भई जाजरकोटको भेरी नगरपालिका–११ जगतिपुरमा औषधि पसल सञ्चालन गर्दै आएका ३२ वर्षीय दीपक कुमार थापाको उपचारका क्रममा मृत्यु भएपछि प्रहरीले आरोपीहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार गत साउन २५ गते राति करिब ९:०० बजे भेरी नगरपालिका–१० स्थित नुवागाउँमा थापामाथि साङ्घातिक आक्रमण भएको थियो। भेरी नगरपालिका–८ का बिरेन्द्र खत्रीसहितको समूहले उनलाई हात तथा मुक्का प्रयोग गरी निर्मम कुटपिट गरेको प्रहरीले जनाएको छ। कुटपिटबाट गम्भीर घाइते भएका थापाको उद्धार र उपचार प्रक्रिया यसरी अघि बढेको थियो ।  घाइते थापालाई घट्नालगत्तै मिसन अस्पताल चौरजहारी, रुकुम पश्चिम लगिएको थियो। चौरजहारीमा प्राथमिक उपचारपछि अवस्था थप जटिल बनेकाले उनलाई नेपालगञ्जस्थित केयर सिटी अस्पताल लगियो। केयर सिटी अस्पतालमा सघन उपचार जारी रहेकै अवस्थामा साउन २८ गते बिहान १:२० बजे थापाको मृत्यु भयो।

थापाको मृत्युपछि अनुसन्धानलाई तीव्र बनाएको प्रहरीले घटनामा संलग्न रहेको आरोपमा साउन २९ गते पाँचै जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा  बिरेन्द्र खत्री (३३ वर्ष – भेरी नगरपालिका–८), निरज रोकाय (२१ वर्ष – भेरी नगरपालिका–९), शिशिर योगी गोसाई (२१ वर्ष – भेरी नगरपालिका–९), लक्ष्मण रोकाय (२४ वर्ष – भेरी नगरपालिका–९), बिनोद गोसाई (२८ वर्ष – भेरी नगरपालिका–९) र पक्राउ परेका अभियुक्तहरूविरुद्ध ‘कर्तव्य ज्यान’ शीर्षकमा मुद्दा दर्ता गरी जाजरकोट जिल्ला अदालतबाट पहिलोपटक १० दिनको म्याद थप अनुमति लिएर हिरासतमा राखिएको छ। घटना हुनुको मुख्य कारण र अन्य प्राविधिक पक्षबारे गहन अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुधिर कुमार खड्काले जानकारी दिएका छन्।

प्रकाशित मिति : २०८३ भदौ १ गते सोमबार