सुर्खेत। कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङलगायतका क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित परिवारहरूलाई यथाशीघ्र राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ। मुख्यमन्त्री मंगलबहादुर शाहीले आइतबार विज्ञप्ति जारी गर्दै पहिरो प्रभावितका लागि खाद्यान्न, स्वास्थ्य उपचार, बीमा रकम र अस्थायी आवास अनुदानका कामहरू तत्काल अघि बढाउने जानकारी दिएका हुन्।
प्रदेश सरकारले विपद्को यस कठिन घडीमा प्रभावित नागरिकलाई तत्काल राहतको अनुभूति दिलाउने गरी मातहतका निकायहरूलाई परिचालन गरेको छ। बाढीपहिरोबाट घरबारविहीन र प्रभावित भएका परिवारका लागि खाद्यान्न तथा अन्य अत्यावश्यक राहत सामग्री तत्काल उपलब्ध गराउने व्यवस्था मिलाइएको छ। विस्थापित भएका नागरिकको स्वास्थ्य उपचार र आवश्यक व्यवस्थापनको जिम्मेवारी सामाजिक विकास मन्त्रालयलाई दिइएको छ।
यसैगरी, पहिरोका कारण घर, पशुपन्छी तथा कृषि बालीमा भएको क्षतिको यथार्थ विवरण सङ्कलन गर्न जिल्ला प्रशासन कार्यालय जाजरकोट र स्थानीय तहसँग समन्वय गरिने भएको छ। सङ्कलित विवरणकै आधारमा थप सहयोग र प्रबन्ध मिलाइनेछ।

बाढीपहिरोमा परी ज्यान गुमाएका व्यक्तिहरूको आधिकारिक विवरण जिल्ला प्रशासन कार्यालयबाट प्राप्त हुनासाथ प्रदेश सरकारले बीमामार्फत उपलब्ध गराउने राहत रकमको प्रक्रिया अविलम्ब अघि बढाउनेछ। साथै, पूर्ण रूपमा घर क्षति भएका परिवारका लागि उपलब्ध गराइने अस्थायी आवास अनुदान रकम पनि ढिलासुस्ती नगरी यथाशीघ्र वितरण गर्न सरकारले पहल गर्ने विज्ञप्तिमा उल्लेख छ।
पहिरोका कारण जाजरकोटसहित प्रदेशका विभिन्न जिल्लामा अवरुद्ध भएका राजमार्ग तथा मुख्य सडकहरू खुलाउन भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले प्राविधिक तथा भौतिक प्रबन्ध मिलाउने भएको छ। सडक बन्द हुँदा उद्धार र राहत सामग्री ढुवानीमा बाधा नपुगोस् भनेर सडक तत्काल सञ्चालनमा ल्याउन लागिएको हो। राहत वितरण कार्यलाई एकद्वार र पारदर्शी बनाउन जिल्ला प्रशासन कार्यालय जाजरकोटसँग समन्वय गरिनेछ भने सम्बन्धित मन्त्रालयहरूले विपद् प्रतिकार्यका लागि क्लस्टर बैठक बसी कार्ययोजना लागू गर्नेछन्।
प्रतिक्रिया दिनुहोस्