सुर्खेत। वीरेन्द्रनगर नगरपालिकामा डेंगु सङ्क्रमण तीव्र रूपमा फैलिएपछि नगर अस्पताल र लाटिकोइली स्वास्थ्य चौकीमा डेंगुको निःशुल्क परीक्षण सेवा उपलब्ध गराइएको छ। सङ्क्रमितको चाप बढ्दै गएपछि नगरपालिकाले नागरिकलाई सहज पहिचान र उपचारका लागि यी दुई स्वास्थ्य संस्थामा निःशुल्क परीक्षणको व्यवस्था मिलाएको हो।
नगरपालिकाको स्वास्थ्य शाखाद्वारा शुक्रबार आयोजित कार्यक्रममा नगर प्रमुख मोहनमाया ढकालले कतिपय नगरबासीलाई निःशुल्क परीक्षणबारे जानकारी नभएकाले लक्षण देखिएमा तत्काल नगर अस्पताल वा लाटिकोइली स्वास्थ्य संस्था पुगेर सेवा लिन अपिल गरिन्।
नगर प्रमुख ढकालका अनुसार वीरेन्द्रनगरका वडा नम्बर ३, ४, ६, ७ र ११ डेंगुको उच्च जोखिममा रहेका छन्। यी वडाहरूमा सचेतना कार्यक्रमका साथै लामखुट्टेको बासस्थान ‘खोज र नष्ट’ (Search and Destroy) अभियानलाई व्यापक बनाइनेछ। डेंगु नियन्त्रणका लागि सञ्चारमाध्यममार्फत व्यापक प्रचारप्रसार गर्न आग्रह गर्दै नगरपालिकाले आगामी दिनमा नगरबासीको रक्तचाप (ब्लड प्रेसर) र मधुमेह (सुगर) परीक्षण गर्ने तयारीसमेत गरिरहेको जानकारी दिइयो।

सुर्खेतका ९ वटा स्थानीय तहमध्ये वीरेन्द्रनगर डेंगुबाट सबैभन्दा बढी प्रभावित बनेको छ । जिल्लाभर पुष्टि भएका कुल २ हजार २०७ जना डेंगु बिरामीमध्ये वीरेन्द्रनगरमा मात्रै १ हजार ९२३ जना (करिब ८७ प्रतिशत) फेला परेका छन्। नगर स्वास्थ्य प्रमुख भूपेन्द्रदेव गिरीका अनुसार वीरेन्द्रनगरमा डेंगुका साथै स्क्रब टाइफसका २२५ जना र औलो (मलेरिया) का २२ जना बिरामी भेटिएका छन्। नगरपालिकाले सबै वडाहरूमा सचेतना ब्यानर राख्ने, किट खरिद गरी स्वास्थ्य संस्थामा पठाउने र टोल विकास समिति, युवा क्लब एवं विद्यालयहरूमा रोकथामका उपायबारे सहजीकरण गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस्