सल्यान। छिन्चु–जाजरकोट सडक खण्डअन्तर्गत सल्यानको बन्गाड कुपिण्डे नगरपालिका–१, अम्रा नजिकै बुधबार दिउँसो यात्रुवाहक जिप दुर्घटना भई भेरी नदीमा खसेको छ। बालुवासंग्रहीबाट सल्लीबजार जाँदै गरेको लु १ ज ३०२२ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल नदीमा खसेको हो। दुर्घटनालगत्तै जिप नदीको तीव्र बहावमा बगेर बेपत्ता भएको छ।

जिपमा कुल चार जना सवार रहेकोमा दुर्घटनालगत्तै दुई जनालाई घाइते अवस्थामा जीवितै उद्धार गरिएको छ। उद्धार गरिएकाहरूमा बन्गाड कुपिण्डे नगरपालिका–१ आपखोलीका २९ वर्षीय प्रेम विक र २१ वर्षीय खुमलाल बुढाथोकी रहेका छन्। उनीहरूलाई उपचारका लागि नजिकैको स्थानीय अस्पतालमा भर्ना गरिएको छ र दुवैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेर जिपसँगै चालक र जिपधनी नदीमा बेपत्ता भएका छन्। बेपत्ता व्यक्तिहरूको पहिचान अझै खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक (DSP) दीपक पातलीले जानकारी दिए। घटनास्थलमा प्रहरी टोली खटिएर स्थानीयको सहयोगमा भेरी नदीमा बेपत्ता जिप र दुवै जनाको तीव्र रूपमा खोजी तथा उद्धार कार्य जारी राखिएको छ।
प्रतिक्रिया दिनुहोस्