सुर्खेत। सुर्खेतको भेरीगंगा नगरपालिका–१३ रामघाटमा घरयासी विवादका क्रममा श्रीमान्ले आफ्नै श्रीमतीलाई पेट्रोल छर्केर आगो लगाई हत्याको प्रयास गरेका छन्। बुधबार साँझ घटेको उक्त विभत्स घटनामा संलग्न रहेको आरोपमा ४९ वर्षीय जयबहादुर रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सामान्य पारिवारिक भनाभन उत्कर्षमा पुगेपछि जयबहादुरले ५० वर्षीया श्रीमती महेश्वरी रानाको शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए। आगोले डढेर गम्भीर घाइते भएकी महेश्वरीलाई स्थानीय र प्रहरीको सहयोगमा तत्कालै उद्धार गरी उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ, सुर्खेत पुर्याइएको थियो। तर, चोटको गम्भीरताका कारण प्रदेश अस्पतालमा सम्भव नभएपछि उनलाई थप उपचारका लागि भारतको लखनउ रेफर गरिएको अस्पतालले जनाएको छ।

चिकित्सकहरूका अनुसार आगोले उनको अनुहार, घाँटी र शरीरका विभिन्न भाग गरी करिब ३५ देखि ३६ प्रतिशत भाग गम्भीर रूपमा जलेको छ। घटनालगत्तै खटिएको प्रहरी टोलीले आरोपी श्रीमान् जयबहादुरलाई नियन्त्रणमा लिई घटनाबारे थप कानुनी एवं अनुसन्धानको प्रक्रिया अगाडि बढाएको छ।
प्रतिक्रिया दिनुहोस्