२०८३ साउन १६ , शनिबार
पूर्वमुख्यमन्त्री शर्माको कटाक्ष

‘आफैँ महादेव उत्तानो परे, कसले देला वर?’



सुर्खेत। कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्माले आफू जनताबाट निर्वाचित जनप्रतिनिधि भएर पनि गम्भीर राजनीतिक अन्यायको सिकार हुनुपरेको बताएका छन्। बिहीबार बसेको प्रदेशसभा बैठकमा सम्बोधन गर्दै शर्माले आफैँ अन्यायमा परेको व्यक्तिले अरूका लागि न्याय र समृद्धिको पक्षमा कसरी खरो उत्रन सक्ला भन्दै गम्भीर प्रश्न उठाएका हुन्।

नयाँ सरकारलाई बधाई दिने क्रममा शर्माले नेपाली प्रचलित उखान ‘आफैँ महादेव उत्तानो परे, कसले देला वर!’ उद्धृत गर्दै आफ्नो वर्तमान राजनीतिक अवस्थाप्रति दुखेसो पोखे। यद्यपि, आफूले न्याय र समृद्धिको यात्रामा आशा र भरोसा भने अझै नगुमाएको उनले स्पष्ट पारे।

२०७९ को प्रदेशसभा निर्वाचनमा तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित शर्मा कर्णालीको मुख्यमन्त्री बनेका थिए। पछि पार्टी एकता प्रक्रियामा विमति जनाएकै कारण उनीमाथि दलीय कारबाही भएको थियो। यद्यपि, अदालतले उनको पक्षमा फैसला सुनाउँदै सांसद पद पुनर्गठन गरिदिएको थियो।

शर्मा एकता प्रक्रियामा नआएपछि नै संसदीय दलको नेता बनेका मंगलबहादुर शाही अहिले प्रदेशको नयाँ मुख्यमन्त्री बनेका छन्। सोही प्रसङ्गलाई सङ्केत गर्दै शर्माले माओवादी आन्दोलनको चर्चित रणनीति ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ शैलीलाई आफूले पनि राम्रोसँग सम्झिरहेको टिप्पणी गरे।

नेकपा र एमालेबीच बनेको नयाँ समीकरण र वामपन्थी एकताको बहसलाई लक्षित गर्दै पूर्वमुख्यमन्त्री शर्माले दलीय निष्ठा र सिद्धान्तमाथि प्रश्न उठाए। “नेपालमा वामपन्थी एकता र सहकार्यको कुरा आउनु ज्यादै राम्रो हो। तर यसको वास्तविक परिभाषा के हो? मैले शब्दकोशमा हेर्दा एउटा परिभाषा भेट्छु, तर नेताहरूको जीवन र व्यवहारमा हेर्दा अर्कै देख्छु,” शर्माले भने। सत्ता समीकरणका नाममा कहिले ‘हलो’ त कहिले ‘रुख’मा भोट हाल्नुपर्ने बाध्यता सिर्जना गरिएको प्रसङ्ग उल्लेख गर्दै उनले सिद्धान्त कथनीमा मात्र सीमित हो कि व्यवहारमा पनि लागू हुन्छ भन्दै प्रश्न गरे।

यसअघि मुख्यमन्त्री पदबाट राजीनामा दिने क्रममा एमाले नेता यामलाल कँडेलले ‘छापामार शैली’ भन्दै गरेको टिप्पणीको शर्माले व्यङ्ग्यात्मक जवाफ दिए। कँडेलतर्फ सङ्केत गर्दै शर्माले भने, “उहाँ अलि पछि पर्नुभयो। छापामार युद्ध त कहिलेकाहीँ नै माथि उठेर मोर्चाबन्दी युद्धमा रूपान्तरण भइसक्यो, राजनीति त एक छलाङ अगाडि बढिसक्यो।” साढे चार दशक लामो राजनीतिक अनुभव बोकेका पूर्वमुख्यमन्त्री शर्माको यो सम्बोधनले कर्णालीको वर्तमान सत्ता समीकरण र दलहरूभित्रको आन्तरिक द्वन्द्वलाई पुनः सतहमा ल्याइदिएको छ।

प्रकाशित मिति : २०८३ साउन १६ गते शनिबार