२०८३ साउन १६ , शनिबार
स्थानीय खबर

वीरेन्द्रनगरमा अटोको ठक्करबाट पैदल यात्रीको मृत्यु



सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ स्थित धुलियाबिट नजिकै अटोको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ। स्थानीय भित्री सडक खण्डमा कप्र ०२००१ स १०९४ नम्बरको अटोले ठक्कर दिँदा ६० वर्षीय रत्न विकको ज्यान गएको हो। आज बिहान पैदल हिँडिरहेका विकलाई अनियन्त्रित भई अटोले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

अटोको तीव्र ठक्करबाट विकको टाउको र ढाडमा गम्भीर चोट लागेको थियो। दुर्घटनालगत्तै उद्धार गरी उनलाई उपचारका लागि सुर्खेतस्थित कर्णाली केयर अस्पताल पुर्‍याइएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगञ्ज नर्सिङ होम लगियो। तर अवस्था थप जटिल बन्दै गएपछि उनलाई भारतको लखनउस्थित सिटी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराले जानकारी दिए।

घटनालगत्तै खटिएको प्रहरी टोलीले अटो चालक २३ वर्षीय राजु सुनारलाई सवारी साधनसहित नियन्त्रणमा लिएको छ। दुर्घटनाको मुख्य कारण र अन्य प्राविधिक विषयबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३ साउन १६ गते शनिबार