२०८३ साउन १६ , शनिबार
हुलाकबाटै घरदैलोमा सवारी चालक अनुमतिपत्र

सुर्खेत, जुम्ला र रुकुम पश्चिमका सेवाग्राहीलाई ठूलो राहत



सुर्खेत। कर्णाली प्रदेशका नागरिकले अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिनका लागि यातायात व्यवस्था कार्यालयसम्म धाइरहनुपर्ने झन्झट अन्त्य भएको छ। हुलाक निर्देशनालय सुर्खेतले यातायात व्यवस्था कार्यालय सुर्खेतसहित जुम्ला र रुकुम (पश्चिम) सेवा केन्द्रबाट वितरण हुने लाइसेन्स नागरिकको घरदैलोमै पुर्‍याउने सेवा औपचारिक रूपमा थालनी गरेको छ।

यस कार्यका लागि भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सचिव अर्जुनकुमार बम र हुलाक निर्देशनालय सुर्खेतका निर्देशक गोविन्दप्रसाद पाण्डेबीच शुक्रबार समझदारीपत्रमा हस्ताक्षर (MoU) भएको थियो।

नेपाल सरकार मन्त्रिपरिषद्को गत चैत १३ गतेको बैठकले स्वीकृत गरेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’को बुँदा नम्बर २७ मा आधारित भएर यो सेवा सुरु गरिएको हो। उक्त कार्यसूचीमा सरकारी सेवाहरू नागरिकको घरदैलोमै उपलब्ध गराउने उल्लेख छ।

यसअघि लाइसेन्स लिनकै लागि दुर्गम जिल्लाका नागरिकहरूले हजारौँ रुपैयाँ खर्च गरेर र सास्ती व्यहोर्दै सुर्खेत, जुम्ला वा रुकुम (पश्चिम) धाउनुपर्ने बाध्यता थियो। अब भने लिखित र प्रयोगात्मक (ट्रायल) परीक्षा पास भई प्रक्रिया पुगेका सेवाग्राहीले ४० रूपैयाँ हुलाक महसुल तिरेर घरैमा लाइसेन्स प्राप्त गर्न सक्नेछन्।

पारम्परिक चिठीपत्रमा सीमित हुलाक सेवाले पछिल्लो समय आफ्नो कार्यशैलीमा व्यापक सुधार ल्याएको छ। हुलाक निर्देशनालय सुर्खेतका अनुसार यसअघि नै नागरिकको राहदानी (पासपोर्ट) र दूरसञ्चार संस्थाका सिमकार्ड घरघरमा पुर्‍याउने काम सफल रूपमा भइरहेको छ। प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परीक्षण हुन नसकेका रगत, दिसा, पिसाब र छालालगायतका नमुनाहरूलाई हवाईमार्फत द्रुत गतिमा काठमाडौँका प्रयोगशालासम्म पुर्‍याउने गरिएको छ। स्वास्थ्य बिमा बोर्ड, नेपाल खुला विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालयजस्ता संस्थाहरूका महत्त्वपूर्ण सामग्री एवं कागजात आदानप्रदानको कामसमेत हुलाकमार्फत नै हुँदै आएको छ। सरकारी सेवालाई प्रविधि र सहज पहुँचसँग जोड्ने यो कदमले कर्णालीका नागरिकलाई प्रशासनिक सुशासनको प्रत्यक्ष अनुभूति दिलाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३ साउन १६ गते शनिबार