सुर्खेत। कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर पदभार सम्हालेका छन्। पदभार ग्रहणकै अवसरमा उनले प्रदेशको विकास निर्माण, सुशासन र नागरिक सुरक्षालाई केन्द्रमा राख्दै तीन वटा महत्त्वपूर्ण निर्णयमा हस्ताक्षर गरेका हुन्। मुख्यमन्त्री शाहीले प्रदेशमा सञ्चालित विकास आयोजनाहरूको प्रभावकारी अनुगमन, शासकीय सुधार र विपद् व्यवस्थापनलाई आफ्नो प्राथमिकताको शीर्ष स्थानमा राखेका छन्।
प्रदेशभित्र सञ्चालित विभिन्न विकास निर्माणका कामलाई पारदर्शी, छरितो र परिणाममुखी बनाउन मुख्यमन्त्री शाहीले ‘प्रजेक्ट ट्र्याकिङ सिस्टम’ (Project Tracking System) स्थापना एवं सञ्चालन गर्ने निर्णय गरेका छन्। यो प्रणाली लागू भएपछि विकास आयोजनाहरूको प्रगति विवरण, कार्यान्वयनको वास्तविक अवस्था र सम्भावित ढिलासुस्तीलाई प्रविधिको प्रयोग गरी ‘रियल-टाइम’ (तत्कालै) अनुगमन गर्न सकिनेछ।

प्रदेश प्रमुख यज्ञराज जाेशीबाट नियुक्तिपत्र बुझ्दै मुख्यमन्त्री शाही
जनतालाई दिइने सार्वजनिक सेवा प्रवाहलाई आधुनिक, सरल र झन्झटरहित बनाउन शासकीय सुधारका नवीन औजारहरू प्रयोग गरिने भएको छ। यसका लागि नयाँ नीति निर्माण गरी अविलम्ब कार्यान्वयनमा ल्याउने निर्णय मुख्यमन्त्रीले गरेका छन्, जसले प्रशासनिक संयन्त्रलाई थप उत्तरदायी बनाउने अपेक्षा गरिएको छ।
भौगोलिक रूपमा उच्च जोखिममा रहेको कर्णाली प्रदेशमा बाढी, पहिरो र आगलागीजस्ता विपद्को सामना गर्न पूर्वतयारी र व्यवस्थापनलाई चुस्त बनाइने भएको छ। यसका लागि सङ्घीय सरकार, स्थानीय तह र सम्बन्धित निकायहरूसँग एकीकृत समन्वय गर्दै आपत्कालीन स्थितिमा द्रुत प्रतिक्रिया (Quick Response) टोलीलाई परिचालन गर्ने र विपद् जोखिम न्यूनीकरणका कार्यलाई प्रभावकारी रूपमा अघि बढाउने निर्णय गरिएको छ
प्रतिक्रिया दिनुहोस्