२०८३ साउन १० , आइतबार
सत्ता स्वार्थ

साउन १२ गतेभित्र मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान



सुर्खेत । कर्णाली प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख यज्ञराज जोशीले दलहरुलाई आह्वान गर्नु भएको छ । यामलाल कँडेलले मुख्यमन्त्रीबाट दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख जोशीले नयाँ सरकार गठनका लागि आह्वान गर्नु भएको हो । नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने कर्णाली प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदको लागि दाबी पेश गर्न आह्वान गर्नु भएको प्रदेश प्रमुख कार्यालयका प्रवत्ता भीमराज थानीले जानकारी दिनुभयो ।

प्रदेश प्रमुखकाे कार्यालय

दलहरुले मुख्यमन्त्रीका लागि आगामी मंगलबार साँझ ५ः०० बजेभित्र दाबी पेश गरिसक्नुपर्ने छ ।
मुख्यमन्त्रीका लागि प्रदेश प्रमुखले मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेसँगै कर्णालीमा नयाँ सरकार गठनको बाटो खुलेको छ । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच शनिबार केन्द्रमा भएको सहमति अनुसार कर्णालीमा नेकपाले नै मुख्यमन्त्रीको दाबी पेश गर्ने छ । नेकपा संसदीय दलका नेता मंगलबहादुर शाहीलाई मुख्यमन्त्री बनाउने तयारी भएको नेकपाका प्रमुख सचेतक कृष्णबहादुर जिसीले बताउनु भयो । तर यस विषयमा औपचारिक निर्णय भइसकेको छैन ।
४० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि २१ जना प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्दछ । कर्णालीमा नेकपाका १४ र एमालेका सभामुख सहित १० जना प्रदेशसभा सदस्यहरु छन् । यस हिसावले नेकपा र एमाले मिलेर अगाडि बढेमा सरकार गठनका लागि सहजै बहुमत पुग्ने छ ।
असार ३२ गते नेकपा र नेपाली कांग्रेसका १६ जना प्रदेशसभा सदस्यहरुले बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपछि शनिबार कँडेलले मुख्यमन्त्री मात्रै पदबाट राजीनामा दिनु भएको थियो । संसदमा अविश्वासको प्रस्ताव फेस गर्न सक्ने अवस्था नभएपछि उहाँले पदबाट राजीनामा दिन बाध्य हुनुभएको थियो । केन्द्रीय तहमा सहमति नहुँदै प्रदेशमा नेकपाले कांग्रेससँग मिलेर अविश्वासको प्रस्ताव दर्ता गराएका कारण नयाँ सरकार गठनका लागि नेकपा र एमालेबीच औपचारिक सम्वाद भएको छैन ।

प्रकाशित मिति : २०८३ साउन १० गते आइतबार