सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका छन् । प्रदेशसभामा दर्ता भएकाे अविश्वासकाे प्रस्ताव फेस गर्न नसक्ने भएपछि मुख्यमन्त्री कँडेलले शनिबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएका हुन् । असार ३२ गते नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका १६ जना प्रदेशसभा सदस्यहरूले मुख्यमन्त्री कँडेलबिरूद्ध संसदमा अविश्वासकाे प्रस्ताव दर्ता गराएका थिए ।

अविश्वासकाे प्रस्तावमाथि शनिबार दिउँसाे ३ बजे बस्ने प्रदेशसभा बैठकमा छलफल हुने कार्यतालिका थियाे । तर अाफूले विश्वासकाे मत पाउने सम्भावना नभएपछि कँडेलले मुख्यमन्त्रीबाट राजीनामा दिन बाध्य भएका हुन् । ४० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १५, नेकपाका १३, सभामुखसहित एमालेका १०, राप्रपार अन्य १/१ जना प्रदेशसभा सदस्य छन् । प्रदेशमा सरकार गठनका लागि २१ जना प्रदेशसभा सदस्यकाे समर्थन अावश्यक पर्छ ।
नेकपा र एमालेबीच प्रदेशमा गठबन्धन गरेर जाने विषयमा छलफल भइरहेकाे छ । तर अहिले नै प्रदेशकाे विषयमा बागबन्डा र गठबन्धनका विषयमा टुंगाे लागेकाे छैन । साेही कारण पनि मुख्यमन्त्रीले पदबाट राजीनामा दिनु परेकाे हाे ।
कर्णालीमा एमाले र कांग्रेसबीच २०८१ साउनदेखि सत्ता साझेदारी भएको थियो । तर सत्ता सहकार्यमा दुइ दल एक मत हुन नसकेपछि असार ३१ मा सरकारमा सहभागी कांग्रेसका चार मन्त्रीले राजीनामा दिएका थिए । मन्त्रीले राजीनामा दिएकाे भाेलिपटक नै कांग्रेसले नेकपासँग मिलेर मुख्यमन्त्रीबिरूद्द संसदमा अविश्वासकाे प्रस्ताव दर्ता गराएकाे थियाे । अविश्वासकाे प्रस्तावमै कांग्रेसले संसदीय दलका नेता जीवनबहादुर शाहीलाइ नयाँ मुख्यमन्त्री बनाउने उल्लेख छ ।
तत्कालीन नेकपा माअाेवादी केन्द्र र एमालेसँगकाे सत्ता गठबन्धनपछि कँडेल २०८० चैत २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनी एमाले संसदीय दलका नेता समेत हुन् ।
प्रतिक्रिया दिनुहोस्