सुर्खेत । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतको आयोजनामा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति समीक्षा गोष्ठी वीरेन्द्रनगरमा भव्य रूपमा सम्पन्न भएको छ। सुर्खेतका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीको प्रमुख आतिथ्यतामा कार्यालयको सभाहलमा आयोजित उक्त कार्यक्रममा गत आर्थिक वर्षमा सम्पादन गरिएका विषयगत कार्यहरू, विनियोजित बजेटको खर्च स्थिति तथा आगामी दिनमा अपनाइने रणनीतिका बारेमा विस्तृत समीक्षा र छलफल गरिएको हो।

वार्षिक समीक्षा गाेष्ठीमा सहभागी अतिथीहरू
समीक्षा गोष्ठीमा कार्यालयले आफ्नो दैनिक कार्यसम्पादनका क्रममा भोग्नुपरेको चरम जनशक्ति अभाव र विस्तृत भौगोलिक कार्यक्षेत्रको चुनौतीका विषयमा गहन मन्थन गरिएको छ। स्वीकृत २१ जना कर्मचारीको दरबन्दी रहेको कार्यालयमा हाल स्थायी तर्फ केवल १२ जना र करारका १ जना गरी जम्मा १३ जनाको भरमा काम चलाउनुपर्ने बाध्यता छ। दरबन्दी अनुसारका प्राविधिक कर्मचारी नहुँदा एकातिर नियमित बजार अनुगमन र सेवा प्रवाहमा कठिनाइ भइरहेको छ भने अर्कोतिर सीमित स्रोत साधन र थोरै जनशक्तिका बाबजुद सुर्खेत कार्यालयले कर्णाली प्रदेशका ७ वटा दुर्गम जिल्लाहरू हेर्नुपर्ने चाप रहेको कार्यालय प्रमुख श्रीराम न्यौपानेले जानकारी दिनुभयो।

वार्षिक समीक्षा गाेष्ठीका सहभागीहरू
यस्ता अनेकौँ प्रशासनिक र भौगोलिक चुनौतीका बाबजुद पनि कार्यालयले उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै बजार अनुगमनबाट बरामद गरिएका अखाद्य वस्तुहरू नष्ट गर्ने कामलाई निरन्तरता दिएको छ। गत आर्थिक वर्षमा बजारबाट गुणस्तरहीन र मापदण्ड विपरीतका कुल ७ लाख ८८ हजार ४८ रुपैयाँ बराबरका अखाद्य पदार्थहरू जफत गरी नष्ट गरिएको विवरण प्रस्तुत गरिएको छ। नष्ट गरिएका सामग्रीहरूमध्ये सबैभन्दा बढी ४ लाख १२ हजार ८९ रुपैयाँ बराबरको खाद्यान्न, दलहन र सोबाट बनेका पदार्थहरू रहेका छन्। यसैगरी १ लाख ६७ हजार ३०३ रुपैयाँ बराबरका अन्य विविध विधाका सामग्री, १ लाख ५ हजार ४५१ रुपैयाँको कन्फेक्सनरी सामान, ४६ हजार २९५ रुपैयाँको फलफूल तथा सागपात र २६ हजार ३६५ रुपैयाँ बराबरका विभिन्न मसलाजन्य वस्तुहरू नष्ट गरिएका छन्। अनुगमनका क्रममा १४ हजार ७३५ रुपैयाँको चिया तथा कफी, ७ हजार ८६० रुपैयाँको गुलियो पदार्थ, ४ हजार २८० रुपैयाँको तेल तथा घ्यूजन्य पदार्थ, ३ हजार ४०० रुपैयाँको मासुजन्य पदार्थ र ३०० रुपैयाँ बराबरको दुग्धजन्य पदार्थ समेत नष्ट गरिएको छ, जब कि प्रशोधित पिउने पानी, नुन र दाना समूहमा भने कुनै पनि अखाद्य पदार्थ भेट्टिएर नष्ट गर्नु नपरेको कार्यालयका कर्मचारी सन्तोष दाहालले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदनमा उल्लेख छ।
नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका कामहरू सम्पादन गर्दा हासिल भएको वित्तीय प्रगतिको विवरण पनि गोष्ठीमा सार्वजनिक गरिएको छ। गत । गत आर्थिक वर्षका लागि कुल २५२.८६ लाख रुपैयाँ बजेट विनियोजन भएकोमा हालसम्म १७५.०७ लाख रुपैयाँ खर्च भई कार्यालयको कुल वित्तीय प्रगति ६९.२४ प्रतिशत र कुल भारित प्रगति ७१.९७ प्रतिशत कायम भएको छ। समीक्षा अवधिमा कार्यालयले खाद्य तथा दाना उद्योग, बजार, होटल, रेस्टुरेन्ट र मिठाई पसलहरूको नियमित निरीक्षण गर्नुका साथै गुणस्तर सम्बन्धी सर्वसाधारणका गुनासोहरूको तत्काल सम्बोधन गरेको छ। यसका साथै उद्योग स्थापनाका लागि सिफारिस, नयाँ अनुज्ञापत्र जारी तथा नवीकरण र खाद्य पदार्थको प्रयोगशाला विश्लेषण सेवा जस्ता मुख्य प्रशासनिक तथा प्राविधिक कार्यहरूलाई चुस्त रूपमा अगाडि बढाइएको छ।

वार्षिक समीक्षा गाेष्ठीमा अाफ्नाे धारणा राख्दै एक सहभागी अतिथीहरू
कार्यक्रमका प्रमुख अतिथि एवं सुर्खेतका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले जनशक्ति र कार्यक्षेत्रको ठुलो दबाबका बीच पनि कार्यालयले हासिल गरेको कार्यप्रगति प्रशंसनीय रहेको टिप्पणी गर्नुभयो। उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने, मिसावट गर्ने र कालोबजारी गर्ने असामाजिक तत्वहरूलाई नियन्त्रण गर्न बजार अनुगमनलाई अझै तीव्र, कडा र प्रभावकारी बनाउन निर्देशन दिँदै उहाँले बजारको अस्वस्थ प्रतिस्पर्धा रोक्न स्थानीय प्रशासनका तर्फबाट खाद्य प्रविधि कार्यालयलाई पूर्ण सहयोग र सहकार्य रहने प्रतिबद्धता समेत जनाउनुभयो। सुरक्षा निकायका प्रतिनिधि, खाद्य निरीक्षक र सरोकारवाला कर्मचारीहरूको सक्रिय उपस्थिति रहेको उक्त समीक्षा कार्यक्रमले आगामी दिनमा उपभोक्ता अधिकार संरक्षणमा अझ प्रभावकारी कदम चाल्ने मार्गचित्र तय गरेको छ।
प्रतिक्रिया दिनुहोस्