सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलबिरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्तामाथि आउँदो शनिबार छलफल भएको छ । बिहीबार बसेको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकले अविश्वासको प्रस्थावमाथि शनिबार दिउँसो ३ बजे बस्ने बैठकमा छफफल गर्ने निर्णय गरेको सभामुख नन्दा गुरुङ्गले जानकारी दिनुभयो ।

कर्णालीमा असार ३२ गते नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का १६ जना प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्री कँडेलबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । कांग्रेस र एमालेका प्रदेशसभा सदस्यहरुले कांगे्रस संसदीय दलका नेता एवम् पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीलाई नयाँ मुख्यमन्त्रीका लागि प्रस्ताव गरेका छन् । बिहीबारका लागि बोलाइएको प्रदेशसभा बैठक अघि दुबै दलको बैठकले अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् । तर प्रदेशमा सत्ता सहकार्यका लागि केन्द्रीय नेतृत्वबाट स्पष्ट मार्ग निर्देशन आउन नसकेका कारण सभामुखले विहीबारको बैठक स्थगित गरेर शनिबारका लागि सार्नु भएको छ । बैठक सारिएपछि मुख्यमन्त्री बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका प्रदेशसभा सदस्यहरुले भने सभामुख पदीय दायित्वलाई बिर्सिएर सरकारको छाया बनेको आरोप लगाएका छन् । ४० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १५, नेकपा १३, एमालेका सभामुखसहित १०, राप्रपाका एक र अन्य एक जना प्रदेशसभा सदस्य छन् । पछिल्लो समय एमाले र नेकपाका केन्द्रीय नेताहरु प्रदेशसमा सत्ता सहकार्यदेखि पार्टी एकतासम्मको गृहकार्य जुटेका छन् । सत्ता सहकार्यका लागि केन्द्रीय तहमै एमाले र नेकपाबीच सहमति नभएको खण्डमा मुख्यमन्त्री कँडेल नेतृत्वको कर्णाली प्रदेश सरकार ढल्ने छ । २०७७ सालमा कँडेलकै नेतृत्वमा तत्कालीन मुख्मयन्त्री महेन्द्रबहादुर शाहीबिरुद्ध १८ जना प्रदेशसभा सदस्यहरुले अविश्वासको प्रस्ताव ल्याएका थिए । जसलाई तत्कालीन नेकपा बिभाजनको महत्वपूर्ण घटना मानिएको थियो । तर तत्कालीन एमालेका चार जना प्रदेशसभा सदस्यहरुले फ्लोरक्रस गरेर शाहीको सरकार जोगाइ दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्