२०८३ साउन ९ , शनिबार
फुटकाे संघारमा कांग्रेस

आत्मसम्मानमा मर्न तयार हुन्छु तर सम्झौता हुन्न: पूर्णबहादुर खड्का



सुर्खेत। नेपाली  कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र आत्मसम्मान र निष्ठाका लागि कहिल्यै कुनै प्रकारको सम्झौता नगर्ने दृढता व्यक्त गर्नुभएको छ। पार्टीको संस्थापन इतर समूहद्वारा बीपी स्मृतिको अवसरमा आयोजित विशेष विचार गोष्ठी तथा सभालाई सम्बोधन गर्दै पूर्वउपसभापति खड्काले आफूहरू व्यक्तिगत पद वा स्वार्थका लागि नभई युवा पुस्ताको भविष्य सुनिश्चित गर्न रक्षाकवच बनेर अघि बढ्न तयार रहेको स्पष्ट पार्नुभएको हो।

​सम्बोधनका क्रममा नेता खड्काले आफूहरू नेतृत्व हडप्ने होडमा नरहेको दाबी गर्दै कसैलाई पनि भ्रममा नपर्न आग्रह गर्नुभयो। नेपाली कांग्रेस स्थापनाकालदेखि नै पहिलोपटक इतिहासकै सर्वाधिक प्रतिकूल र जटिल मोडमा पुगेको टिप्पणी गर्दै उहाँले निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध पनि स्वाभिमानका लागि लडिएको स्मरण गराउनुभयो। पार्टीभित्र आफ्नै नेता-कार्यकर्ताको आत्मसम्मानमा आँच आउन नदिने प्रष्ट पार्दै बरु मर्न तयार हुने तर निष्ठा र सम्मानमा कसैसँग झुकेर सम्झौता नगर्ने चेतावनी उहाँले दिनुभयो।

​पार्टीभित्र बढ्दो आन्तरिक विवाद र ध्रुवीकरणतर्फ सङ्केत गर्दै खड्काले वर्तमान सभापति गगनकुमार थापाले अग्रसरता र चाहना नदेखाएसम्म पार्टी एकढिक्का हुन नसक्ने ठोकुवा गर्नुभयो। पार्टीलाई मिलाएर एकताबद्ध बनाउनेतर्फ सभापति लगायतका जिम्मेवार शीर्ष नेताहरूको ध्यान जान नसकेको आरोप लगाउँदै उहाँले एकताका लागि जोड दिँदा उल्टै ‘बार्गेनिङ’ (सौदाबाजी) को गलत ट्याग लगाइएकोमा गम्भीर आपत्ति जनाउनुभयो।

​पार्टीको आगामी बाटो र एकताको आधार प्रस्तुत गर्दै नेता खड्काले १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिलाई समेटेर र मिलाएर लैजान नेतृत्वलाई सुझाव दिनुभयो। विशेष अवस्थालाई स्वीकार्न आफूहरू तयार रहेको उल्लेख गर्दै उहाँले १४ औँ महाधिवेशनको केन्द्रीय समितिलाई पूर्णता दिएर सबैलाई जोड्न खोज्नु कुनै बार्गेनिङ नभई पार्टी बचाउने र बलियो बनाउने इमानदार प्रयास भएको दाबी गर्नुभयो।

प्रकाशित मिति : २०८३ साउन ६ गते बुधबार