२०८३ साउन ९ , शनिबार
स्थानीय खबर

​डा. केसीको ‘स्वस्पर्श’ लाई पारिजात कृतिसम्मान



नेपाली साहित्यकी अमर स्रष्टा पारिजातको साहित्यिक योगदानलाई जीवन्त राख्न स्थापित पारिजात स्मृति केन्द्रले यस वर्षको प्रतिष्ठित ‘पारिजात कृतिसम्मान २०८२’ बालरोग विशेषज्ञ एवं लोकप्रिय लेखक डा. नवराज केसीको निबन्ध सङ्ग्रह ‘स्वस्पर्श’ लाई प्रदान गर्ने निर्णय गरेको छ।

​सम्मानका लागि गठित विषयविज्ञहरूको छनोट समितिले पहिलो चरणमा देशभरबाट प्रकाशित विभिन्न विधाका उत्कृष्ट आठ वटा कृतिहरूलाई सूचीकृत (सर्टलिस्ट) गरेको थियो। ती आठ कृतिहरूमध्ये निबन्ध विधातर्फ डा. केसीको ‘स्वस्पर्श’ ले स्थान बनाएको थियो। पहिलो चरणमा छनोटमा परेका कृतिहरूमाथि समितिले गहन अध्ययन, सूक्ष्म मूल्याङ्कन र पटक-पटकको छलफलपछि ‘स्वस्पर्श’ लाई नै यस वर्षको सम्मानका लागि सर्वसम्मत सिफारिस गरेको थियो। सोही समितिको आधिकारिक सिफारिसका आधारमा पारिजात स्मृति केन्द्रले उक्त कृतिलाई सम्मान प्रदान गर्ने अन्तिम निर्णय गरेको हो।

​पारिजात स्मृति केन्द्रका महासचिव दिलसुन्दर श्रेष्ठले एक प्रेस विज्ञप्ति जारी गर्दै आगामी साउन १० गते आयोजना गरिने विशेष साहित्यिक कार्यक्रमका बीच लेखक डा. केसीलाई यो सम्मान औपचारिक रूपमा अर्पण गरिने जानकारी दिनुभएको छ। महासचिव श्रेष्ठका अनुसार साहित्यकार पारिजातको अतुलनीय योगदानको स्मरण र सम्मानस्वरूप केन्द्रले यसै वर्षदेखि यो ‘पारिजात कृतिसम्मान’ नियमित रूपमा प्रदान गर्ने परम्पराको थालनी गरेको हो, जसको पहिलो संस्करणबाटै डा. केसीको कृति सम्मानित हुन पुगेको छ।

प्रकाशित मिति : २०८३ साउन ६ गते बुधबार