२०८३ साउन ९ , शनिबार
गुर्भाकाेटमा गाडी दुर्घटना

१९ जना घाइते, ३ जनाकाे अवस्था‌गम्भीर



​सुर्खेत। पूर्वी सुर्खेतको गुर्भाकोटमा यात्रुवाहक गाडी दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन्। सुर्खेतको सपम्ताबाट गुमीतर्फ आइरहेको क.प्र. ०२००१ ख ०४९० नम्बरको फोर्स गाडी बुधबार पौने १२ बजे गुर्भाकोट नगरपालिका-१३ स्थित सेराघारीमा दुर्घटनामा परेको हो।

​दुर्घटना लगतै स्थानीयवासी र प्रहरीको संयुक्त टोलीले घटनास्थलबाट घाइतेहरूको उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालमा पठाएको छ। घाइतेहरूमध्ये केहीको स्थानीय मेहेलकुना अस्पतालमा उपचार भइरहेको छ भने थप उपचार आवश्यक परेका र अवस्था अलि जटिल रहेका घाइतेहरूलाई प्रदेश राजधानी वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल तथा अन्य सुविधायुक्त अस्पतालहरूमा प्रेषित (रिफर) गरिएको प्रहरीले जनाएको छ।

​दुर्घटनापछि सवारी साधन र यात्रुको सुरक्षालाई ध्यानमा राख्दै गाडीका चालकलाई प्रहरी चौकी गुमीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको वास्तविक कारण अझै खुल्न नसकेको र तीव्र गति वा यान्त्रिक खराबी के कारणले दुर्घटना भएको हो भन्ने विषयमा चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३ साउन ६ गते बुधबार