२०८३ साउन ९ , शनिबार
​सुर्खेतमा बढ्दै सामाजिक अपराध

तीन वर्षमा साढे २ हजारभन्दा बढी मुद्दा दर्ता, सहरीकरण र बेरोजगारी मुख्य कारक



सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर (सुर्खेत) मा पछिल्लो समय सामाजिक अपराधजन्य घटनाहरूको ग्राफ बर्सेनि तीव्र रूपमा उकालो लागिरहेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले सार्वजनिक गरेको तथ्याङ्क अनुसार विगतका वर्षहरूको तुलनामा जिल्लामा आपराधिक प्रवृत्ति र घटनाहरू क्रमबद्ध रूपमा बढ्दै गएका हुन्। आर्थिक वर्ष २०८०/८१ को तुलनामा आव २०८१/८२ मा शून्य दशमलव १४ प्रतिशतले अपराध बढेकोमा त्यसपछिको आव २०८२/८३ मा भने अपराधको दर ह्वात्तै बढेर एक दशमलव १५ प्रतिशत पुगेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेत र त्यस मातहतका इलाका प्रहरी कार्यालयहरूमा पछिल्लो तीन आर्थिक वर्षको अवधिमा मात्रै कुल दुई हजार ६०३ वटा अपराधजन्य मुद्दाहरू दर्ता भएका छन्, जसले प्रदेश राजधानीकै शान्ति सुरक्षा र सामाजिक संरचनामाथि गम्भीर प्रश्नचिह्न खडा गरिदिएको छ।

​जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) ठाकुरप्रसाद पोखरेलले दर्ता भएका मुद्दाहरूको गहिरो विश्लेषण गर्दा सुर्खेतमा अपराधको सञ्जाल फैलिँदै गएको पुष्टि हुने बताउनुभयो। तथ्याङ्क अनुसार आव २०८०/८१ मा ८२० वटा मुद्दा दर्ता भएकोमा आव २०८१/८२ मा बढेर ८३४ पुगेको थियो भने पछिल्लो आव २०८२/८३ मा यो सङ्ख्या अझै उकालो लाग्दै ९४९ पुगेको छ। कुल अपराधमध्ये पनि विशेष गरी लागुऔषधको अवैध कारोबार, जघन्य अपराध (जबरजस्ती करणी) र आत्महत्याका घटनाहरू अन्य अपराधको तुलनामा तीव्र गतिमा बढिरहेका छन्। अझ चिन्ताजनक कुरा त के छ भने लागुऔषध जस्तो भयावह अपराधमा पछिल्लो समय ससाना बालबालिकाहरू समेत जोडिन थालेका छन्। आव २०८०/८१ मा लागुऔषधका १९२ मुद्दा दर्ता हुँदा चार जना बालक संलग्न रहेकोमा आव २०८२/८३ सम्म आइपुग्दा सात बालक र दुई जना बालिकासहित नौ जना बालबालिका लागुऔषधको दुर्व्यसन र कारोबारमा मुछिएको पाइएको छ।

​यसैगरी, समाजलाई नै स्तब्ध बनाउने जघन्य अपराध मानिने जबरजस्ती करणी र कर्तव्य ज्यानका घटनाहरू पनि सुर्खेतमा उत्तिकै डरलाग्दो गरी बढिरहेका छन्। आव २०८२/८३ मा मात्रै २४४ वटा जबरजस्ती करणीका मुद्दा दर्ता भएका छन् भने तीन वर्षको अवधिमा १९ वटा कर्तव्य ज्यानसम्बन्धी गम्भीर मुद्दा प्रहरीमा दर्ता भई अनुसन्धान प्रक्रियामा गएका छन्। त्यसैगरी, तीन आर्थिक वर्षको अवधिमा घरेलु हिंसाका एक हजार ३८२ र सामाजिक हिंसासँग सम्बन्धित एक हजार ३५७ वटा मुद्दाहरू दर्ता भएका छन्। प्रविधिको विकाससँगै अपराधको शैली पनि बदलिएको छ, जसको उदाहरणका रूपमा आव २०८२/८३ मा मात्रै विद्युतीय ठगी, सामाजिक सञ्जाल (फेसबुक) ह्याकिङ र मोबाइल चोरीलगायतका ७९१ वटा नयाँ प्रकृतिका मुद्दाहरू दर्ता हुनुलाई लिन सकिन्छ। सङ्गठित तथा आर्थिक अपराध र सवारी दुर्घटनाका घटनामा पनि बर्सेनि वृद्धि भइरहेको छ, जहाँ तीन वर्षमा क्रमशः १३, १९ र १८ वटा ठगीका तथा १९, २५ र ३१ वटा सवारी ज्यानसम्बन्धी मुद्दाहरू दर्ता भएका छन्।

​सुर्खेतका लागि सबैभन्दा डरलाग्दो र चुनौतीपूर्ण बनेको अर्को पाटो भनेको बर्सेनि बढ्दै गएको आत्महत्याको दर हो। प्रहरीको तथ्याङ्क अनुसार सुर्खेतमा वार्षिक सरदर ११० जना नागरिकले अकालमा आत्महत्या गरेर आफ्नो ज्यान फालिरहेका छन्। जसमा आव २०८०/८१ मा १११, आव २०८१/८२ मा ११४ र आव २०८२/८३ मा १०७ जनाले आत्महत्या गरेको हृदयविदारक आँकडा प्रहरीसँग छ।

​जिल्लामा यसरी दिनप्रतिदिन विभिन्न खाले सामाजिक अपराधजन्य घटनाहरू वृद्धि हुनुमा तीव्र रूपमा भइरहेको अव्यवस्थित सहरीकरण, युवापुस्तामा व्याप्त बेरोजगारी, सामाजिक सञ्जालको नकारात्मक प्रभाव, सहरिया जीवनशैलीको अन्धो देखासिकी र सर्वसाधारणमा रहेको असावधानी नै मुख्य कारण रहेको प्रहरी उपरीक्षक पोखरेलको निष्कर्ष छ। समाजमा जरो गाडेर बसेका यस्ता जटिल अपराध र विकृतिहरूलाई केवल प्रहरीको डन्डा वा एक्लो प्रयासले मात्रै निर्मूल पार्न असम्भव प्रायः हुने भएकाले तीनै तहका सरकारको आपसी समन्वय, सहकार्य र राज्यका सबै अङ्ग एवं नागरिक समाजको उत्तिकै सक्रिय दायित्व हुनुपर्नेमा उहाँले जोड दिनुभयो।

प्रकाशित मिति : २०८३ साउन ४ गते सोमबार