२०८३ साउन ११ , सोमबार
चौकुनेको तालागाउँमा दुखद घटना

कर्णाली नदीको भेलमा पौडी खेल्ने क्रममा युवक बेपत्ता



सुर्खेत । सुर्खेतको पश्चिम क्षेत्रमा पर्ने चौकुने गाउँपालिकामा कर्णाली नदीमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता भएका छन्। चौकुने गाउँपालिका–१ तालागाउँस्थित कर्णाली नदी किनारमा गर्मी छल्न पौडी खेल्न पसेका बाजुराको त्रिवेणी नगरपालिका–३ घर भएका २५ वर्षीय रामबहादुर भण्डारी डुबेर बेपत्ता भएका हुन्। प्रहरीका अनुसार बेपत्ता भण्डारी लु ३ च ७६५२ नम्बरको बोलेरो गाडीका चालक हुन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराका अनुसार यो दुर्घटना दिउँसो करिब ३ बजेतिर घटेको हो। चालक भण्डारी तालागाउँका स्थानीय साथीहरूसँगै कर्णाली नदीमा पौडी खेल्न गएका थिए। पौडी खेल्ने क्रममा अचानक नदीको तीव्र बहावले भण्डारीलाई बगाएर बेपत्ता बनाएपछि उनीसँगै गएका चौकुने–१ का प्रेमबहादुर साउदका १४ वर्षीय छोरा सुशील साउद, २४ वर्षीय मिनबहादुर साउद र १८ वर्षीय खेमबहादुर साउदले हतार-हतार साँझ करिब ५ः३० बजे मात्रै प्रहरीलाई घटनाबारे खबर गरेका थिए।

युवक नदीमा बगेको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट लगामबाट प्रहरी सहायक निरीक्षक (असिई) ज्योतिष सिंहको कमाण्डमा दुई सदस्यीय प्रहरी टोली तत्काल घटनास्थलमा परिचालन गरिएको थियो। प्रहरी टोलीले स्थानीय नागरिकहरूको सहयोगमा नदीको तटीय क्षेत्रहरूमा खोजी कार्य सुरु गरिसकेको छ। कर्णाली नदीको बहाव उच्च र धमिलो भएकाले खोजी कार्यमा केही कठिनाइ भइरहेको भए पनि बेपत्ता भण्डारीको खोजीलाई निकै तीव्र पारिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३ असार ३१ गते बुधबार