२०८३ साउन ९ , शनिबार
बुलबुलेको प्राकृतिक मुहानमै 'ब्रेक'

कङ्क्रिट निर्माण र जग्गा अतिक्रमणले ऐतिहासिक ताल सुक्यो



सुर्खेत । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय पहिचान बोकेको सुर्खेतको ऐतिहासिक बुलबुले ताल यतिबेला प्राकृतिक अस्तित्व संकटको गम्भीर मोडमा आइपुगेको छ। तालको मुख्य सुन्दरता र आकर्षणका रूपमा रहेको प्राकृतिक मुहान नै एकाएक सुकेपछि यहाँको सिमसार क्षेत्र र जैविक विविधतामा गम्भीर सङ्कट उत्पन्न भएको हो। विगतमा वातावरणीय संरक्षणको उत्कृष्ट नमुना मानिने बुलबुले उद्यानमा पछिल्लो समय पर्यटकीय संरचना र ताल विस्तार गर्ने नाममा जथाभाबी रूपमा कङ्क्रिटका पक्की पर्खाल लगाउने, जग्गा अतिक्रमण गर्ने र सिमसार क्षेत्र नै मासेर मोटरबोट सञ्चालन गर्ने जस्ता अप्राकृतिक क्रियाकलाप बढेकाले यो दुःखद अवस्था निम्तिएको हो।

​वीरेन्द्रनगरका स्थानीय बासिन्दा चन्द्रबहादुर थापाले विकासका नाममा थुपारिएका कङ्क्रिटका भारी पूर्वाधार र जथाभाबी चलाइएको डोजरकै कारण ऐतिहासिक ताल र धाराहरू सुकेको आरोप लगाउनुभएको छ। वीरेन्द्रनगर उपत्यकाको पानीको मुख्य स्रोत र एउटा महत्त्वपूर्ण पहिचानका रूपमा रहेको यस सिमसार क्षेत्रको पारिस्थितिकीय प्रणाली (इकोसिस्टम) जोगाउन तीनै तहका सरकार पूर्ण रूपमा चुकेको भन्दै स्थानीय नागरिकले गम्भीर चिन्ता व्यक्त गरेका छन्।

​यो गम्भीर वातावरणीय सङ्कट सतहमा आएपछि वीरेन्द्रनगर नगरपालिकाले यसको वैज्ञानिक अध्ययन गर्ने तत्परता देखाएको छ। वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकालले ताल सुकेको विषयलाई गम्भीरतापूर्वक लिँदै चाँडै नै भूगर्भविद्सहितको प्राविधिक टोली ल्याएर स्थलगत अध्ययन गरिने जानकारी दिनुभयो। पछिल्लो समय बुलबुले आसपासको सिमसार क्षेत्रमा तीव्र रूपमा बस्ती विस्तार हुँदा पनि पानीको सतहमा उतारचढाव आइरहेको बताउँदै उहाँले वास्तविक कारण प्राविधिक अध्ययन पछि मात्रै भन्न सकिने प्रष्ट पार्नुभयो। यता बुलबुले उद्यान कार्यालयका प्रमुख शिखर चपाईंले भने बाहिर जथाभाबी रूपमा प्रचार गरिए जस्तो ताल नै समाप्त नभएको दाबी गर्दै अहिले केवल बुलबुले धाराको पानी मात्र सुकेको बताउनुभयो। नगरपालिकाले बाहिरी रूपमा नयाँ संरचनाहरू बनाए पनि जमिनमुनिका पुराना भित्री संरचनाहरू जीर्ण भएकाले मुहानको पानी अन्यत्रै ‘लिक’ (चुहावट) भएको र त्यसको मर्मत सम्भार गर्ने बित्तिकै धाराहरूमा पुनः पानी आउने उहाँको तर्क छ।

​वास्तवमा यो संकटको बिजारोपण सुर्खेत उपत्यका नगर विकास समितिले बुलबुलेको आधुनिक विकासका लागि भन्दै २०७४ सालमा ल्याएको २० बर्से गुरुयोजनाबाट सुरु भएको देखिन्छ। कुल ३१ करोड ६३ लाख रुपियाँ लागत अनुमान गरिएको उक्त गुरुयोजनामा २२ वटा महत्वाकाङ्क्षी योजनाहरू समेटिएका छन्, जसमा ठुलो पार्किङ, चक्रपथ, पक्की सडक, विश्राम कक्ष, रेस्टुरेन्ट, स्विमिङ पुल र सोलार बत्ती जस्ता कङ्क्रिटका संरचनाहरू उल्लेख छन्। यसै योजना अन्तर्गत पहिलो चरणमा प्राकृतिक सिमसारमा डोजर चलाएर ताललाई पक्की पर्खालले घेर्दै यसको आकार साविकभन्दा तीन गुणा ठुलो पारियो र मोटरबोट गुडाउन थालियो। लगानीको यो शिलशिला यत्तिमै रोकिएन, अहिले कर्णाली प्रदेश सरकारको साढे दुई करोड रुपियाँ खर्चमा चार हजार दुई वर्गमिटर क्षेत्रफलमा अर्को नयाँ सानो ताल थप्ने दोस्रो चरणको काम भइरहेको छ।

स्तरोन्नतिका नाममा प्राकृतिक जमिनमाथि निरन्तर चलाइएका भारी उपकरण र अविवेकी कङ्क्रिटको हस्तक्षेपले अन्ततः बुलबुलेको भूमिगत पानीको सञ्जाललाई क्षतविक्षत पारेको र परिणामस्वरुप ऐतिहासिक धाराहरू आज प्यासी बनेको वातावरणविद्हरूको समेत भनाइ छ।

प्रकाशित मिति : २०८३ असार ३० गते मंगलबार