२०८३ साउन ९ , शनिबार
कर्णाली गाडी दुर्घटना

चालकको शव ९ दिनपछि भेटियाे, सहचालक अझै बेपत्ता



दैलेख । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको साङ्गेतडामा भएको भयावह मिनी बस (फोर्स) दुर्घटनाका चालक ९ दिनपछि मृत अवस्थामा फेला परेका छन्। गत असार १८ गते बिहीबार सडकबाट कर्णाली नदीमा खसेर बेपत्ता भएका चालक तुलाराम सुवेदीको शव नदीले बगाएर अछाम पुर्‍याएको अवस्थामा फेला परेको हो। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) श्रवणकुमार विकका अनुसार शनिबार बिहान करिब ७ बजेको समयमा अछामको तुर्माखाँद गाउँपालिका-२ जमगडास्थित कर्णाली नदीको किनारमा चालकको शव भेटिएको हो।

पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका-८ माझिगाउँ निवासी मृतक सुवेदीको शवलाई उनका बुबाले घटनास्थलमा पुगेर पहिचान गरी बुझिसकेका छन्। तर, सोही घटनामा दाजुसँगै नदीमा बेपत्ता भएका उनका भाइ एवं गाडीका सहचालक रामप्रसाद सुवेदीको अवस्था भने ९ दिन बितिसक्दा पनि अझै अज्ञात नै छ।

यो दर्दनाक दुर्घटना गत असार १८ गते बिहीबार बिहान ११:३० बजे सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क.प्र. ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ स्थित साङ्गेतडा क्षेत्रमा अनियन्त्रित हुँदा घटेको थियो। राजमार्गबाट करिब ४०० मिटर तल खसेको उक्त गाडी सिधै कर्णाली नदीमा डुबेको थियो। गाडीमा सवार कुल ५ जनामध्ये कालिकोट पचालझरना गाउँपालिका–९ निवासी ५४ वर्षीय जेखे तिरुवा दुर्घटनाकै दिन भीरमा अड्किएको अवस्थामा फेला परेका थिए, जसलाई दुल्लु अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए।

नदीको तीव्र बहावले बगाएका अन्य यात्रुहरूको शव फरक-फरक जिल्लाका नदी तटीय क्षेत्रमा फेला परिरहेका छन्। गाडीसँगै बेपत्ता भएका कालिकोट पचालझरना–९ का मेगे तिरुवाको शव गत सोमबार कैलालीको सुङ्गरखाला क्षेत्रमा भेटिएको थियो भने कालिकोटकै रास्कोट नगरपालिका–२ की १८ वर्षीया सिर्जनाको शव मंगलबार पश्चिम सुर्खेतको चौकुने गाउँपालिका—४ मा पर्ने डङ्डगे क्षेत्रमा फेला परेको थियो।

प्रहरीका अनुसार हालसम्म दुर्घटनामा परेका ४ जनाको शव फेला परिसकेको भए पनि अझै एक जना सहचालक र दुर्घटनाग्रस्त गाडीको अवस्था भने रहस्यकै गर्भमा छ। नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका गोताखोरसहितका टोलीहरू दिनरात खोजी कार्यमा सक्रिय रहे पनि धमिलो पानी र उच्च जलप्रवाहका कारण गाडी र अन्तिम यात्रुको पत्तो लगाउन सुरक्षा निकायलाई सकस भइरहेको छ।

प्रकाशित मिति : २०८३ असार २७ गते शनिबार