२०८३ साउन ११ , सोमबार
बिरामीको सेवामा खटिने नर्स आफैं सुत्केरी व्यथाले जटिल

डोल्पाबाट सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी सुर्खेत पुर्‍याइयो



डोल्पा । अरूको दुःख र बिरामीको उपचारमा अहोरात्र खटिने स्वास्थ्यकर्मी नै कहिलेकाहीँ आफैं जटिल स्वास्थ्य संकटको सिकार बन्नुपर्दो रहेछ। यस्तै एउटा संवेदनशील घटना डोल्पा जिल्ला अस्पतालमा घटेको छ, जहाँ बिरामीको सेवामा समर्पित एक स्टाफ नर्स आफैं प्रसूतिको जटिल समस्यामा परेपछि उहाँको ज्यान जोगाउन नेपाली सेनाको हेलिकोप्टर परिचालन गर्नुपरेको छ। डोल्पा जिल्ला अस्पतालमा कार्यरत त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट निवासी २८ वर्षीया स्टाफ नर्स सविता बोहोरालाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत बिहीबार आकस्मिक हवाई उद्धार गरी प्रदेश अस्पताल सुर्खेत पुर्‍याइएको हो।

​सविताको प्रसूति हुने समय (डेलिभरी डेट) नजिकिएपछि उहाँलाई उपचारका लागि आफू नै कार्यरत रहेको जिल्ला अस्पताल डोल्पामा भर्ना गरिएको थियो। तर, सुत्केरी व्यथा लाग्ने क्रममा उहाँको स्वास्थ्य अवस्था एकाएक जटिल बन्दै गयो। दुर्गमको उक्त अस्पतालमा उपलब्ध सीमित स्रोत-साधन र प्रविधिबाट उहाँको सहज रूपमा सुत्केरी गराउन सम्भव नभएको र आमा तथा शिशु दुवैको ज्यान जोखिममा पर्न सक्ने गम्भीर निष्कर्षमा चिकित्सकहरू पुगे। अस्पतालका डाक्टरहरूले तत्कालै सवितालाई थप उपचारका लागि सुविधासम्पन्न शिक्षण अस्पताल वा प्रादेशिक अस्पतालमा लैजान ‘रिफर’ गरे।

​चिकित्सकहरूको सोही आकस्मिक सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालय डोल्पाले तत्कालै गृह मन्त्रालय र राष्ट्रपति महिला उत्थान कार्यक्रमसँग समन्वय गर्‍यो। डोल्पाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जुनु हमाल ढकालका अनुसार दुर्गमका गर्भवती तथा सुत्केरी महिलाहरूका लागि सञ्चालित नेपाल सरकारको विशेष कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकोप्टर तत्काल डोल्पा पठाइएको थियो। हेलिकोप्टरमार्फत सुरक्षित रूपमा उद्धार गरिएकी स्टाफ नर्स सवितालाई बिहीबार नै प्रदेश अस्पताल सुर्खेतको आकस्मिक कक्षमा भर्ना गरिएको छ, जहाँ अहिले विशेषज्ञ चिकित्सकहरूको निगरानीमा उहाँको उपचार प्रक्रिया अघि बढाइएको छ।

प्रकाशित मिति : २०८३ असार २६ गते शुक्रबार