सुर्खेत । बैंकहरू केवल नाफा कमाउने माध्यम मात्र हुन् भन्ने आम बुझाइलाई चिर्दै नेपाल बैंक लिमिटेड सुर्खेत शाखाले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत विद्यालयका बालबालिकाहरूलाई सहयोग गरेकाे छ । बैंकले शुक्रबार वीरेन्द्रनगर–१० दीपनगरस्थित श्री मन्दिरगढी प्राथमिक विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीहरूलाइ शैक्षिक सामग्री हस्तान्तरण गरेकाे छ । बैंकले दुइ लाख रूपैयाँ बराबरकाे शैक्षिक सामग्री हस्तान्तर गरेकाे हाे । साैही अवसरमा बैंकले वित्तीय जनचेतना समेत जगाइएको छ।
बैंकका सुर्खेत शाखा प्रबन्धक गायत्री भट्टराईले देशको पहिलो बैंक भएको नाताले समाजप्रतिको उत्तरदायित्व बहन गर्नु आफ्नो कर्तव्य भएको स्पष्ट पार्नुभयो। उहाँले बैंकले सधैं मुनाफालाई मात्र केन्द्रमा राखेर सेवा प्रवाह नगर्ने बताउँदै विद्यालयका कुल ११६ जना बालबालिकाहरूलाई झोला तथा स्टेशनरी सामग्री हस्तान्तरण गर्नुभयो। सोही अवसरमा प्रबन्धक भट्टराईले प्रविधिको विकाससँगै पछिल्लो समय बैंकिङ क्षेत्रमा डिजिटल ह्याकिङको ठुलो जोखिम बढेको औँल्याउँदै अभिभावक र शिक्षकहरूलाई प्रविधि चलाउँदा सधैं चनाखो र सचेत रहन आग्रह समेत गर्नुभयो।

दलित, जनजाति र आर्थिक रूपमा विपन्न वर्गका विद्यार्थीहरू मात्र अध्ययन गर्ने उक्त विद्यालयले कसैलाई पनि आधारभूत शिक्षाबाट बञ्चित हुन नदिन विभिन्न सङ्घसंस्थासँग समन्वय गर्दै शैक्षिक सामग्री जुटाउँदै आएको छ। विद्यालयका प्रधानाध्यापक हित कुमारी खड्काले बैंकको यो निस्वार्थ सहयोगप्रति आभार व्यक्त गर्नुभयो। बैंकमा आफ्नो कुनै खाता वा कारोबार नै नभए पनि आफ्ना बालबालिकाको उज्ज्वल भविष्यका लागि नेपाल बैंक आफैँ आएर सहयोग गरेको देख्दा विपन्न अभिभावकहरूले समेत निकै खुसी र आश्चर्य व्यक्त गरेका थिए।
यस्तै, कार्यक्रमका प्रमुख अतिथि वीरेन्द्रनगर नगरपालिका वडा नं. १० का वडाध्यक्ष दिल बहादुर रखालले शिक्षा क्षेत्रमा लगानी गर्नु भनेको नागरिकको भविष्य सुधार्नु भएको धारणा राख्नुभयो। उहाँले नेपाल बैंकले गरेको यस उदाहरणीय कार्यको सिको गर्दै अन्य वाणिज्य बैंक तथा वित्तीय संस्थाहरूले पनि विपन्न वर्गका बालबालिकाहरूलाई सहयोग गर्न अगाडि सर्नुपर्नेमा जोड दिनुभयो।
बाल विकास (ECD) देखि कक्षा ५ सम्म अध्यापन हुने उक्त विद्यालयमा दलित सशक्तिकरण केन्द्र नेपालको संयोजन तथा व्यवस्थापन र नेपाल बैंक लिमिटेडको पूर्ण आर्थिक सहयोगमा यी सामग्रीहरू वितरण गरिएको हो। कार्यक्रमलाई शिलशिलेबार रूपमा अघि बढाउँदै नेपाल बैंक लिमिटेड कर्णाली प्रादेशिक कार्यालय सुर्खेतका उप-प्रबन्धक बालाराज बुढा, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक सङ्घका अध्यक्ष पदम बहादुर चलाउने तथा आयोजक संस्थाकी प्रतिनिधि लक्ष्मी विक लगायतको उपस्थितिमा सामग्रीहरू विधिवत् रूपमा बालबालिकाको हातमा सुम्पिइएको थियो।
प्रतिक्रिया दिनुहोस्