सुर्खेत । आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका मुगुका युवा गणेश नेपालीको उपचारका क्रममा दुःखद निधन भएपछि सुर्खेतका आक्रोशित युवाहरू न्यायको माग गर्दै सडक आन्दोलनमा उत्रिएका छन्। बिहीबार सङ्घीय राजधानी काठमाडौँको त्रिपुरेश्वरमा महानगर प्रहरीसँग व्यवसाय वा जीविकोपार्जनको विषयलाई लिएर भएको गम्भीर विवाद र तनावपछि विक्षिप्त बनेका नेपालीले आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए। आगोले गम्भीर घाइते भएका उनको कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेकोमा शुक्रबार उपचारकै क्रममा मृत्यु भएपछि उनको गृह प्रदेश कर्णालीको राजधानी सुर्खेतमा युवाहरू स्वतःस्फूर्त रूपमा विरोध प्रदर्शनमा होमिएका हुन्।

सुर्खेतमा भेला भएका आन्दोलित युवाहरूले यो घटनालाई राज्य र स्थानीय प्रशासनको संवेदनहीनताको उपज भन्दै आत्मदाह गर्न बाध्य पार्ने वा विवादमा संलग्न दोषी महानगर प्रहरी तथा अधिकारीहरूलाई तत्काल कानुनी दायरामा ल्याएर कडा कारबाही गर्न माग गरेका छन्। विरोध प्रदर्शनमा सहभागी युवाहरूले आफ्नै देशमा पसिना बगाउन चाहने ऊर्जाशील युवाहरूलाई रोजगारी र बाँच्ने आधार दिनुको साटो मर्न बाध्य बनाउने वर्तमान सरकार जनविरोधी भएको भन्दै चर्को आक्रोश पोखेका छन्। देशमा बढ्दो बेरोजगारी र भुइँतहका श्रमजीवी नागरिकमाथि हुने प्रशासनिक दमनका कारण यस्ता दर्दनाक घटना दोहोरिएको उनीहरूको तर्क छ। आन्दोलनकारी युवाहरूले मृतक नेपालीका आश्रित परिवारलाई तत्काल राज्यका तर्फबाट उचित क्षतिपूर्ति र दीर्घकालीन राहतको व्यवस्था गर्नुपर्ने माग राख्दै न्याय नपाएसम्म संघर्ष जारी राख्ने चेतावनी समेत दिएका छन्।
प्रतिक्रिया दिनुहोस्