२०८३ साउन १० , आइतबार
कर्णाली राजमागर्का कष्ट

पहिरो हटाउने उपकरण तैनाथ,  ३ घण्टामै अवरोध खुलाइने



सुर्खेत । बर्खायामको समयमा कर्णालीका मुख्य राष्ट्रिय राजमार्गहरूमा पहिरोका कारण हुन सक्ने सम्भावित अवरोधलाई तत्काल हटाएर यातायात सेवा सुचारु राख्न सडक डिभिजन कार्यालयले विभिन्न जिल्लाका रणनीतिक नाकाहरूमा भारी उपकरणहरू पूर्ण रूपमा तयारी अवस्थामा (अलर्ट) राखेको छ। कार्यालयले सुर्खेत–जुम्ला जोड्ने प्रसिद्ध कर्णाली राजमार्ग, सुर्खेत–डोल्पा जोड्ने भेरी कोरिडोर, रत्न राजमार्ग अन्तर्गतको कोहलपुर–सुर्खेत खण्ड र सुर्खेत–दैलेख सडक खण्डका मुख्य पहिरोग्रस्त नाकाहरूमा जेसिबी र लोडरहरू तैनाथ गरेको हो। वर्षा अवधिभर जुनसुकै बेला पहिरो जान सक्ने संवेदनशीलता र विगतका बर्षहरूको अनुभवलाई मध्यनजर गर्दै सम्भावित स्थानहरूलाई पायक पर्ने गरी यी उपकरणहरू राखिएको कार्यालयले जनाएको छ। सडक डिभिजन कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर रूपेश केसीका अनुसार कर्णाली राजमार्गको सुरक्षाका लागि तल्लो डुङ्गेश्वर र राकममा उपकरणहरू राखिएको छ भने सुर्खेत–दैलेख सडकका लागि तालपोखरीमा तथा भेरी कोरिडोर खण्डका लागि बोटेचौर र छिन्चुमा उपकरणहरू चौबीसै घण्टा तैनाथ अवस्थामा राखिएका छन्।

पहिरोले सडक अवरुद्ध भएको आधिकारिक खबर वा सूचना प्राप्त हुनासाथ बढीमा दुईदेखि तीन घण्टाभित्रै पहिरो पन्छाएर सडक पूर्ण रूपमा खुलाइसक्ने गरी अप्रेशन टोली तयार पारिएको इन्जिनियर केसीले दाबी गरे। सडक डिभिजनले यो विशेष उपकरण तैनाथी अभियान आगामी असोज महिनासम्म नै निरन्तर जारी राख्ने जनाएको छ। सुखद पक्ष के छ भने यस वर्षको असार तेस्रो सातासम्म ठूलो पहिरो नै जाने गरी कर्णालीमा भारी वर्षा भएको छैन, जसका कारण अहिलेसम्म यहाँका मुख्य सडक सञ्जालहरू ठप्प हुन पाएका छैनन्। कर्णाली प्रदेशमा विशेष गरी कर्णाली राजमार्गको दैलेख र कालीकोट खण्डमा पर्ने पादुका, राकम, दहीखोला र सुनारखोला क्षेत्रमा सबैभन्दा बढी पहिरो जाने गर्दछ भने सुर्खेत–दैलेख खण्डमा रानीमत्ता, माथिल्लो डुङ्गेश्वर र गुराँसे क्षेत्र तथा कोहलपुर–सुर्खेत खण्डको हर्रे र देउराली क्षेत्र पहिरोका कारण बारम्बार अवरुद्ध हुने गरेका छन्।

इन्जिनियर केसीले यस वर्ष अहिलेसम्म विगतको जस्तो भयावह र बाढी पहिरोको खराब अवस्था नआए पनि मन्त्रालय र विभागको निर्देशन अनुसार आफूहरू पूर्वतयारीमा कत्ति पनि पछि नहटेको प्रष्ट पारे। सडक खुलाउनका लागि डिभिजन कार्यालयका आफ्ना मेसिनहरू मात्र नभई पहिरो गएको नजिकै पर्ने स्थानीय तहहरूसँग उपलब्ध रहेका जेसिबी तथा लोडरहरू समेत तत्काल प्रयोगमा ल्याउन सकिने गरी स्थानीय पालिकाहरूसँग बलियो समन्वय र सहकार्यको संयन्त्र बनाइएको छ। यस पूर्वतयारीले बर्खाको समयमा कर्णाली राजमार्ग हुदै यात्रा गर्ने हजारौँ यात्रुहरूलाई बाटोमै अलपत्र पर्नुपर्ने सास्तीबाट ठूलो राहत मिल्ने विश्वास गरिएको छ।

प्रकाशित मिति : २०८३ असार २२ गते सोमबार