सुर्खेत । नेपालगञ्ज र सुर्खेतलगायतका क्षेत्रमा पटक–पटक हुने अघोषित विद्युत् अवरोध, न्यून भोल्टेज (लो भोल्टेज) तथा मिटर अभावका कारण नागरिक आजित भएर गुनासो बढेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले आफैँ दुई दिनसम्म त्यस क्षेत्रमा बसेर सरोकारवालाहरूसँग समस्याको पहिचान र समाधानका उपायबारे सघन छलफल गरेका छन्। ऊर्जा मन्त्रालयका सचिव, नेपाल विद्युत् प्राधिकरणका सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका प्रमुखहरू, विभिन्न वितरण केन्द्रका अधिकारी, स्थानीय जनप्रतिनिधि, उद्योगी–व्यवसायी तथा सर्वसाधारण नागरिकहरूसँग भएको उक्त बृहत अन्तर्क्रियामा पश्चिम नेपालको विद्युत् वितरण प्रणाली निकै जीर्ण बन्दै गएको गम्भीर निष्कर्ष निकालिएको छ। करिब चार दशकअघि निर्माण गरिएका पुराना संरचनाले वर्तमान समयको बढ्दो विद्युत् मागलाई धान्न नसकेको तथा फिडर, ट्रान्सफर्मर र अन्य वितरण उपकरणको चरम अभावका कारण आपूर्ति शृङ्खला नराम्ररी प्रभावित भइरहेको संयुक्त ठहर गरिएको छ।
छलफलका क्रममा नेपालगञ्ज क्षेत्र पश्चिमबाट आउने र पूर्वतर्फ जाने विद्युत् प्रसारण प्रणालीको अन्तिम बिन्दु (टेल एन्ड) मा रहेकाले त्यहाँ प्राविधिक दबाब बढी रहेको, पुराना उपकरणको गुणस्तरसमेत एकदमै कमजोर देखिएको र समग्र वितरण सञ्जालको व्यापक स्तरोन्नति अपरिहार्य भइसकेको औँल्याइएको छ। तर मन्त्री श्रेष्ठको यो विशेष सक्रियता र पहल लगत्तै कर्णाली प्रदेशमा लामो समयदेखि चुलिएको विद्युत् मिटरको अभाव भने तत्कालै समाधान हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार हाल माग गरिएका कुल ५ हजार मिटरमध्ये २ हजार मिटर आपूर्ति भई सुर्खेत लगायतका क्षेत्रमा जडान प्रक्रिया समेत सुरु भइसकेको छ भने बाँकी रहेका ३ हजार मिटर आगामी ७ दिनभित्रै उपलब्ध गराएर वितरण गरिनेछ। त्यसैगरी सुर्खेतबासीले भोग्दै आएको न्यून भोल्टेजको दीर्घकालीन समस्या समाधानका लागि वितरण प्रणाली स्तरोन्नति गर्न आवश्यक बजेटको विनियोजन गरिसकिएको र आगामी केही महिनाभित्रै स्थलगत काम सुरु गर्ने तयारी ऊर्जा मन्त्रालयले गरेको छ।

प्राधिकरणका अनुसार सातौँ विद्युतीकरण आयोजना सम्पन्न भएपछि वितरण प्रणालीमा पर्याप्त सुधार हुन नसकेको र विद्युत् माग वार्षिक रूपमा करिब १५ प्रतिशतले बढिरहेकाले कोहलपुर राष्ट्रिय प्रसारण लाइन र टनकपुर आपूर्तिको अन्तिम बिन्दुमा रहेको सञ्जालमा चाप बढ्दा सेवा प्रभावित भएको हो। यस्तै, न्यू नेपालगञ्ज सबस्टेशन निर्माण सम्पन्न हुन ढिलाइ हुनु, फिडर ओभरलोड, लगातारको ट्रिपिङ, पुराना लाइन तथा अपर्याप्त ट्रान्सफर्मरका कारण यो सङ्कट निम्तिएको हो। समस्या समाधानका लागि मन्त्री श्रेष्ठले निर्माणाधीन न्यू नेपालगञ्ज सबस्टेशनलाई यथाशीघ्र सञ्चालनमा ल्याउन आवश्यक समन्वय गरिने, थप क्षमताका ट्रान्सफर्मर जडान गर्ने, पुराना लाइन र कन्डक्टर स्तरोन्नति तथा नयाँ फिडर निर्माण जस्ता कामलाई तत्काल, मध्यकाल र दीर्घकालको योजना बनाई कार्यान्वयन गर्ने बताएका छन्। अत्यधिक गर्मीका बेला विद्युतको सास्तीले नागरिक, उद्योग व्यवसाय र कृषि क्षेत्रमा परेको नकारात्मक असरप्रति सरकार गम्भीर रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले मन्त्रालय र प्राधिकरण मिलेर पश्चिम नेपालका नागरिकलाई भरपर्दो र सुरक्षित बिजुली दिने कामलाई प्राथमिकतामा राखेर स्थायी समाधान खोजिने दृढता व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस्