२०८३ कात्तिक १३ , शुक्रबार
कर्णाली बस दुर्घटना

उच्च बहाव र धमिलो पानीले खोजी सास्ती, यात्रुको संख्या अझै अनिश्चित



सु्र्खेत । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साँगेतडा सडक खण्डबाट कर्णाली नदीमा मिनी बस (फोर्स) खसेको चार दिन बितिसक्दा पनि दुर्घटनाग्रस्त गाडी र बेपत्ता यात्रुहरूको अवस्था अज्ञात नै रहेको छ । वर्षायामका कारण नदीमा पानीको बहाव अत्यधिक हुनु र पानी एकदमै धमिलो भएका कारण खोजी कार्य निकै चुनौतीपूर्ण र प्रभावित बनेको छ ।

मुख्यमन्त्री यामलाल कँडेलले हेलिकोप्टरसहितका अत्याधुनिक प्रविधि प्रयोग गरेर खोजी कार्यलाई तीव्रता दिन निर्देशन दिएपछि सुरक्षा निकायहरूले हवाई र जल दुवै मार्गबाट सर्च अपरेसन चलाइरहेका छन् ।

सुर्खेतबाट कालीकोटको रास्कोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश–०२–००१ ख १०५५ नम्बरको मिनी बस गत बिहीबार बिहान करिब ११ः३० बजे अनियन्त्रित भई सडकबाट सिधै कर्णाली नदीमा खसेको थियो । दुर्घटनाको चार दिन बितिसक्दा (आइतबारसम्म) पनि नदीको भित्री सतहमा गाडी कुन ठाउँमा छ भन्ने पत्तो लाग्न सकेको छैन ।

दुर्घटनामा परेका यात्रुहरूको यकिन सङ्ख्या अझै खुल्न सकेको छैन । यातायात कम्पनीको काउन्टर अभिलेख अनुसार ५ जनाले मात्र टिकट काटेको देखिए पनि बीच बाटोबाट अन्य यात्रुहरू चढेको हुन सक्ने अनुमान गरिएको छ । बाटोमा पर्ने प्रहरी चौकीहरूमा समेत उक्त गाडीको इन्ट्री रेकर्ड नभेटिएकाले कति जना बेपत्ता छन् भन्ने स्पष्ट हुन सकेको छैन । यद्यपि, दुर्घटना भएकै दिन भीरमा अड्किएको अवस्थामा एक जनाको शव फेला परेको र उनको सनाखत भइसकेको प्रहरीले जनाएको छ ।

नदीको तीव्र धारका बीच नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका कुल १७६ जना तालिमप्राप्त सुरक्षाकर्मीहरू खोजी कार्यमा चौबीसै घण्टा खटिएका छन् । कर्णाली प्रदेश प्रहरी प्रमुख (डीआईजी) जयराज सापकोटाका अनुसार सम्भावित सबै क्षेत्रमा टोली परिचालन गरिएको छ ।्र

उत्तरपश्चिम पृतना हेडक्वार्टरका पृतनापति दिपेशजंग शाहका अनुसार दुर्घटनास्थलदेखि बर्दियाको सीमासम्म करिब ७० जना सैनिक जवानहरू परिचालन गरिएका छन् । सेनाले हेलिकोप्टर र ड्रोन क्यामराको सहायताबाट हवाई निगरानी गरिरहेको छ । नेपाल प्रहरीका ७० जना र सशस्त्र प्रहरीका ३६ जना गरी गोताखोर तथा विशेष विपद् उद्धार टोलीहरू नदीको किनार र सम्भावित खोँचहरूमा खटिएका छन् ।

पृतनापति शाहका अनुसार तीव्र जलप्रवाह, धमिलो पानी र नदीको पिँधसम्म हेर्न सक्ने आधुनिक सोनार प्रविधियुक्त उपकरण नहुँदा खोजी कार्यमा ढिलाइ भइरहेको हो । सुरक्षा निकायका प्रमुखहरूले नदीको बहाव सामान्य हुने बित्तिकै जलसेना र गोताखोरहरूलाई अझ गहिराइसम्म परिचालन गरेर गाडी र यात्रुको खोजी कार्यलाई निष्कर्षमा पुर्‍याउने बताएका छन् ।

प्रकाशित मिति : २०८३ असार २१ गते आइतबार