२०८३ भदौ ३० , मंगलबार
डोल्पाको गैरीगाउँमा बाढीको बितण्डा

एक जनाको मृत्यु, गम्भीर घाइतेको सेनाको हेलिकोप्टरबाट उद्धार



सुर्खेत । डोल्पाको जगदुल्ला गाउँपालिकामा आइतबार बिहान प्राकृतिक विपत्तिको ठुलो घटना घटेको छ । लगातारको अविरल वर्षासँगै आएको पहिरोसहितको बाढी बस्तीमा पस्दा जनधनको ठुलो क्षति भएको छ । बाढी र पहिरोका कारण एक महिलाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । बाढीले गैरीगाउँका कम्तीमा १० वटा घरहरूमा पूर्ण तथा आंशिक क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार बाढीको चपेटामा परी गम्भीर घाइते भएकी ५६ वर्षीया आनन्दी विकको दुःखद निधन भएको छ । स्थानीय बासिन्दा र प्रहरी टोलीले उनलाई उद्धार गरी उपचारका लागि झ्याकोट स्वास्थ्य चौकीतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । यस प्राकृतिक विपत्तिमा परेर हाल एक पुरुष, तीन महिला र दुई बालिका गरी ६ जना घाइते भएका छन् ।

बाढीमा परी गम्भीर घाइते भएकी अर्की ४४ वर्षीया स्थानीय महिला रेउली विकको अवस्था चिन्ताजनक भएपछि तत्काल थप उपचारको व्यवस्था मिलाइएको छ । डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार गृह मन्त्रालयको द्रुत समन्वयमा नेपाली सेनाको हेलिकोप्टर मगाएर उनको आपत्कालीन उद्धार गरिएको हो । हेलिकोप्टरमार्फत डोल्पाबाट ल्याइएकी रेउलीलाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेतमा भर्ना गरिएको छ ।

भौगोलिक रूपमा विकट र सडक सञ्जालको सहज पहुँच नभएको उक्त क्षेत्रमा आइतबार बिहानैदेखि सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधिहरू उद्धार कार्यमा खटिएका छन् । बाढीले घरबास गुमाएका कम्तीमा १० परिवार अहिले बिचल्लीमा परेका छन् । स्थानीय प्रशासनले घाइतेहरूको उपचारसँगै प्रभावित परिवारका लागि तत्काल राहत तथा अस्थायी बसोबासको व्यवस्था मिलाउन गृह मन्त्रालय र प्रदेश सरकारसँग समन्वय गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २०८३ असार २१ गते आइतबार