सुर्खेत । कर्णाली प्रदेशको राजधानी सहर वीरेन्द्रनगर नगरपालिकाले स्वास्थ्य क्षेत्रमा एउटा ऐतिहासिक फड्को मारेको छ। पाँच वर्षमुनिका सबै बालबालिकालाई राष्ट्रिय खोप तालिकाअनुसार पाउनुपर्ने सम्पूर्ण नियमित खोपको पहुँच पुर्याउँदै वीरेन्द्रनगरलाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका’ घोषणा गरिएको छ। शुक्रबार आयोजित एक भव्य समारोहका बीच आवश्यक सबै कानुनी र प्राविधिक मापदण्ड पूरा गरी यो ऐतिहासिक घोषणा गरिएको हो।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भुपेन्द्र गिरीका अनुसार जन्मेदेखि १५ महिना र १६ देखि ५९ महिनाका बालबालिकाहरूलाई लक्षित गरी सञ्चालन गरिएको विशेष खोज अभियान सफल भएपछि यो उपलब्धि हासिल भएको हो।

यसअघि नगरका सबै १६ वटै वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिसकिएको थियो। सबै वडाले आफ्नो लक्ष्य पूरा गरेपछि मात्र पालिका स्तरको यो घोषणा सम्भव भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख एवं जिल्ला खोप समन्वय समितिका अध्यक्ष गंगाराम सुनारले विकट स्वास्थ्य क्षेत्रमा हासिल भएको यो उपलब्धिलाई टिकाइराख्नु ठुलो चुनौती रहेको बताउनुभयो। विशेषगरी सहरी क्षेत्रमा बढ्दो बसाइँसराइका कारण खोप कार्यक्रमलाई निरन्तर प्रभावकारी बनाउन थप मेहनत आवश्यक रहेको उहाँको भनाइ थियो।
यस्तै, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख (मेयर) मोहनमाया ढकालले यो सफलता नगरवासी, स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाहरूको साझा मेहनतको प्रतिफल भएको उल्लेख गर्नुभयो। उहाँले आगामी दिनमा पनि कुनै पनि बालबालिका खोपबाट वञ्चित नहोऊन् भन्नका लागि नगरपालिकाले नियमित अनुगमन र जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष मधुवन विसीले स्वास्थ्य क्षेत्रमा जनशक्ति थपिए पनि सूचकाङ्कहरूमा अझै अपेक्षित सुधार आवश्यक रहेको औँल्याउँदै सञ्चार क्षेत्रले जनचेतना जगाउन निरन्तर सहकार्य गर्ने स्पष्ट पार्नुभयो।
घोषणा सभाको अवसरमा स्वास्थ्य क्षेत्रमा लामो समय योगदान पुर्याएका व्यक्तित्वहरूलाई विशेष सम्मान गरिएको छ। ६० वर्ष उमेर पूरा गरी सेवाबाट अवकाश पाएका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई जनही नगद ५० हजार रुपैयाँ र प्रशंसापत्रसहित सम्मानपूर्वक बिदाइ गरियो। साथै, सेवा निवृत्त अन्य दुई जना स्वास्थ्य कर्मचारी र अभियानलाई सफल बनाउन भूमिका खेल्ने १६ वटै वडाका वडाध्यक्ष, स्वास्थ्य संस्थाहरू तथा स्वयंसेविकाहरूलाई पनि सम्मानित गरिएको थियो।
वीरेन्द्रनगरको यो घोषणासँगै सुर्खेतका सबै स्थानीय तहले आफ्नो मापदण्ड पूरा गरिसकेका छन्। यसै पृष्ठभूमिमा आगामी असार २३ गते सुर्खेत जिल्लालाई नै औपचारिक रूपमा ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला’ घोषणा गर्ने तयारी गरिएको छ।
प्रतिक्रिया दिनुहोस्