सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा सम्पादन गरेका विकास निर्माण, योजना, बजेट तथा सेवा प्रवाहका विषयमा नगरवासीसँग प्रत्यक्ष संवाद गरेको छ । सेवाग्राहीका गुनासा सुन्ने, सुझाव संकलन गर्ने र स्थानीय सरकारलाई जनताप्रति उत्तरदायी बनाउने उद्देश्यका साथ बिहीबार नगरपालिकाको आयोजनामा वृहत् सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा उपस्थित वीरेन्द्रनगरका नागरिक तथा सरोकारवालाहरूले उपत्यकाको विकास र सुशासनका बारेमा विभिन्न तिखा र रचनात्मक प्रश्नहरू उठाएका थिए ।
नगरभित्रको सरसफाइमा सुधार, सडक मर्मत, फुटपाथ व्यवस्थापन, र पार्कहरूको स्तरोन्नति हुनुपर्ने । वर्षायाममा सडक आसपासमा हुने डुबान रोक्न ढल सुधार गरिनुपर्ने तथा नेवारे, इत्राम र खोक्रे लगायतका खोलाहरूमा तत्काल पुल तथा कल्भर्ट निर्माण गरिनुपर्ने । मुख्य राजमार्गभन्दा तल्लो क्षेत्र र उपत्यका माथिका पहाडी वडाहरूको विकासमा सन्तुलन मिलाउनुपर्ने तथा ल्यान्डफिल साइटलाई व्यवस्थित गरिनुपर्ने ।

नागरिकका प्रश्नहरूको संवोधन गर्दै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख (मेयर) मोहनमाया ढकालले नगरले प्रथम पञ्चवर्षीय योजना निर्माण गरेर योजनाबद्ध विकासको जग बसालेको दाबी गर्नुभयो । उहाँले विगतमा भू-उपयोग नीति बन्नुअघि जथाभाबी गरिएका प्लटिङका कारण अहिले डुबानको समस्या देखिएको र त्यसलाई सच्याउन नगर लागिपरेको बताउनुभयो ।
मेयर ढकालल् बहुप्रतीक्षित भेरी पम्पिङ लिफ्टिङ आयोजना निर्माणको चरणमा रहेको र अबको दुई वर्षभित्र वीरेन्द्रनगरको खानेपानी समस्या पूर्ण रूपमा समाधान हुनेछ ।
ल्यान्डफिल साइटको डिपिआर (DPR) अनुसार संघीय सरकारसँगको सहकार्यमा करिब ३८ करोड रुपैयाँको लागतमा ४ वर्षभित्र सम्पन्न हुने गरी आधुनिक फोहोर व्यवस्थापनको काम अघि बढेको छ ।
यस्तै, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बास्कोटाले उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गरी सेवा प्रवाह भइरहेको जानकारी दिनुभयो । सुशासनतर्फ नयाँ नीति सार्वजनिक गर्दै उहाँले अब वडा वा केन्द्रमा कुनै पनि कामको फाइल बढीमा ७ दिनभन्दा बढी नरोकिने नियम लागू गरिएको बताउनुभयो ।
नगरपालिकाको सेवालाई पूर्ण रूपमा डिजिटल बनाउन लागिएको र नयाँ प्रशासनिक भवनमा सरेपछि ‘एकद्वार सेवा प्रणाली’ मार्फत नागरिकले छिटोछरितो सेवा पाउने उहाँको भनाइ थियो । डिजिटल माध्यमबाटै गुनासो सुनुवाइको व्यवस्था समेत गरिने उहाँले स्पष्ट पार्नुभयो ।
नगरपालिकाका प्रशासन शाखा प्रमुख टंक प्रकाश लामिछानेले स्थानीय सरकारको सामाजिक जवाफदेहिता वहन गर्ने क्रममा सार्वजनिक सुनुवाइ र सामाजिक परीक्षण जस्ता कार्यक्रमलाई निरन्तरता दिइएको बताउनुभयो ।
’गुड अप्सन नेपाल सुर्खेत’ को प्राविधिक सहजीकरणमा सम्पन्न उक्त कार्यक्रममा नगर उपप्रमुख नीलकण्ठ खनाल, विभिन्न वडाका वडाध्यक्षहरू, विषयगत शाखा प्रमुखहरू, नागरिक समाजका प्रतिनिधि, सञ्चारकर्मी तथा ठुलो संख्यामा नगरवासी सेवाग्राहीहरूको उपस्थिति रहेको थियो
प्रतिक्रिया दिनुहोस्