२०८३ साउन १० , आइतबार
​कर्णालीमा प्रदेशस्तरीय फुटबल महासंग्राम

१० वटै जिल्ला भिड्ने, विजेताले डेढ लाख पाउने



​सुर्खेत । कर्णाली प्रदेशमा फुटबल खेलको व्यावसायिक विकास र नयाँ प्रतिभावान खेलाडीहरूको खोजी गर्ने उद्देश्यका साथ भव्य फुटबल प्रतियोगिताको आयोजना हुने भएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा आगामी असार १८ देखि २२ गतेसम्म सुर्खेतको वीरेन्द्रनगर रङ्गशालामा ‘कर्णाली प्रदेशस्तरीय फुटबल प्रतियोगिता–२०८३’ सञ्चालन हुन लागेको हो ।

​यस प्रतियोगितालाई आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बलियो र प्रतिस्पर्धी प्रादेशिक टोली निर्माण गर्ने आधार स्तम्भको रूपमा हेरिएको छ ।

परिषद्का सदस्य सचिव रविन्द्र चन्दका अनुसार यस फुटबल महाकुम्भमा कर्णाली प्रदेशका सबै १० वटै जिल्लाका उत्कृष्ट फुटबल टोलीहरूले सहभागिता जनाउने छन् । प्रतियोगिता अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (IFAB laws of the game) को प्रचलित नियम अनुसार पूर्ण रूपमा ‘नकआउट’ प्रणालीमा खेलाइनेछ ।

प्रत्येक जिल्लाबाट बढीमा २५ जनाको टोली (१८ देखि २० जना खेलाडी र ५ जना अफिसियल) दर्ता हुनेछन् ।  प्रतियोगितालाई विवादरहित र मर्यादित बनाउन रेफ्री तथा प्राविधिक समितिको निर्णयलाई नै अन्तिम मान्यता दिइने आयोजकले स्पष्ट पारेको छ ।

आयोजकले सहभागी टोली र खेलाडीहरूको मनोबल बढाउन आकर्षक नगद पुरस्कार र आर्थिक सहयोगको व्यवस्था गरेको छ । जसमा ​विजेता (प्रथम) हुनेले नगद रु. १ लाख ५० हजार, भव्य ट्रफी, पदक र प्रमाणपत्र, ​उपविजेता (द्वितीय) हुनेले नगद रु. १ लाख, ट्रफी, पदक र प्रमाणपत्र पाउने छन् ।

त्यस्तै ​फेयर प्ले टिम र उत्कृष्ट खेलाडीहरूले जनही रु. १०/१० हजार, ​उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले जनही  ५/५ हजार र ​प्लेयर अफ द म्याचमा प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई रु. १ हजार ५ सय पाउने छन् ।

​यसका साथै, प्रतियोगितामा सहभागी हुन आउने प्रत्येक जिल्लाको टोलीलाई तयारी स्वरूप ८० हजार नगद उपलब्ध गराइनेछ । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै मैदानमा उत्रने प्रत्येक खेलाडीको  १ लाख बराबरको दुर्घटना बीमासमेत परिषद्ले गरिदिएको छ ।

प्रदेशस्तरमा आयोजना हुने यस प्रतियोगिताले खेलाडीहरूलाई मैदानमा उत्कृष्ट प्रतिस्पर्धात्मक अनुभव दिलाउने विश्वास गरिएको छ । सदस्य सचिव चन्दले यस प्रतियोगितामार्फत कर्णालीमा फुटबलको जग बलियो हुने, खेलाडीहरूको क्षमता अभिवृद्धि हुने र दशौँ राष्ट्रिय खेलकुदका लागि उत्कृष्ट खेलाडीहरू छनोट गर्न ठुलो टेवा पुग्ने व्यावसायिक रणनीति रहेको बताए ।

प्रकाशित मिति : २०८३ असार १७ गते बुधबार