२०८३ भदौ ३० , मंगलबार
दुर्घटना घटाउन 'डिफेन्सिभ ड्राइभिङ' प्रशिक्षण

सुरक्षाकर्मीलाई नै सिकाइयो सडक अनुशासन



सुर्खेत । सडक सुरक्षालाई थप बलियो बनाउन र दिनप्रतिदिन बढ्दै गएका सवारी दुर्घटनाहरू कम गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले विशेष सक्रियता देखाएको छ । यसै क्रममा ट्राफिक प्रहरीले सडकमा अग्रपंक्तिमा खटिने सुरक्षा निकायका चालक तथा सुरक्षाकर्मीहरूलाई नै लक्षित गरी सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक नियम र ‘डिफेन्सिभ ड्राइभिङ’ सम्बन्धी विशेष सचेतना प्रशिक्षण दिएको छ ।

 सडक सुरक्षालाई प्रभावकारी बनाउने उद्देश्यका साथ गत सोमबार सुर्खेतस्थित सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी वाहिनी मुख्यालयमा यो प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो । उक्त प्रशिक्षण सत्रमा सशस्त्र प्रहरी बल नेपाल नं. ३२ गण हेडक्वार्टर रक्तकाली र सशस्त्र प्रहरी बल नेपाल मद्दती तथा सेवा गुल्म सुर्खेतमा कार्यरत १ सय ४१ जना सशस्त्र प्रहरी कर्मचारी तथा चालकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।  ट्राफिक कार्यालयका अनुसार सडक दुर्घटना हुनुमा सडकको अवस्था र सवारी साधनको प्राविधिक गडबडी मात्र नभई चालकको लापरवाही पनि मुख्य कारण रहने गरेको छ । यसैलाई मध्यनजर गर्दै दुर्घटना कसरी कम गर्ने भन्नेबारे विस्तृत कक्षा सञ्चालन गरिएको थियो ।

चालकले आफ्नो मात्र नभई सडकमा गुड्ने अन्य सवारी साधन, पैदलयात्री र सडकको परिस्थितिलाई समेत विचार गरी सुरक्षित रूपमा गाडी चलाउने विशेष सीप,  सडकमा आइपर्न सक्ने सम्भावित जोखिमको पहिल्यै अनुमान गर्ने र गुडिरहेका सवारी साधनबीच सुरक्षित दूरी कायम राख्ने तरिकाहरू र सडक लेनको पूर्ण पालना, ट्राफिक संकेतहरूको सही पहिचान, तीव्र गति नियन्त्रण, भीडभाड व्यवस्थापन र सवारी चलाउँदा अपनाउनुपर्ने कानुनी एवं व्यावहारिक सावधानीबारे प्रशिक्षण दिइएकाे प्रहरी सहायक निरीक्षक टोपबहादुर महतराले विस्तृत जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख एवं प्रहरी निरीक्षक रोहितकुमार शाहीले सडकमा सुरक्षित यात्रा कसरी गर्ने र भवितव्य दुर्घटनाबाट कसरी जोगिने भन्नेबारे विशेष व्यावहारिक टिप्सहरू दिनुभएको थियो । सुर्खेत ट्राफिकले विगतदेखि नै सडक सुरक्षाका लागि यस्ता सचेतनामूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको र यसले सडकमा गुड्ने सरकारी तथा निजी दुवै खाले सवारी साधनको अनुशासनमा व्यापक सुधार ल्याउने विश्वास लिएको छ ।

प्रकाशित मिति : २०८३ असार १७ गते बुधबार