२०८३ भदौ ३० , मंगलबार
कर्णालीको मुख्य नाकामा मध्यरातको एक्सन

लाखौँका अवैध मोबाइल र पार्टपुर्जासहित बस नियन्त्रणमा



सुर्खेत । कर्णाली प्रदेशको मुख्य सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सुरक्षा निकायले सीमा नाकामा उच्च सतर्कता अपनाउन थालेको छ । विशेषगरी लागुऔषध र राजस्व छलीका अवैध कपडा तथा इलेक्ट्रोनिक्स सामानहरू भित्रिन सक्ने जोखिमलाई मध्यनजर गर्दै सुर्खेतको बबई नाकामा प्रहरीले चेकजाँच र निगरानीलाई निकै कडा बनाएको छ ।

यसै क्रममा गएराति (सोमबार राति) बबई नाकामा खटिएको संयुक्त प्रहरी टोलीले बिल–भरपाई नभएका लाखौँ मूल्य बराबरका अवैध मोबाइल तथा पार्टपुर्जाहरू बरामद गर्न सफल भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी सहायक हवल्दार जीवन कुमालको कमाण्डमा खटिएको विशेष टोली र अस्थायी प्रहरी पोस्ट बबईको संयुक्त टोलीले नाकामा नियमित चेकजाँच गरिरहेको थियो । सोही क्रममा नेपालगञ्जबाट जुम्लातर्फ जाँदै गरेको ना ४ ख ३४६० नम्बरको यात्रीवाहक बसलाई शङ्का लागेर जाँच गर्दा लुकाइछिपाइ राखिएका ती अवैध सामग्रीहरू फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक (डीएसपी) कविन्द्रसिंह बोहोराका अनुसार बरामद गरिएका सामग्रीहरूको कुनै पनि कानुनी बिल-भरपाई पाइएको छैन । प्रहरीले २० प्याकेट मोबाइल ग्लास र १ प्याकेट मोबाइल डिस्प्ले, ‘लाभा’ कम्पनीका १५ थान किप्याड मोबाइल, ‘बेनो’ कम्पनीका ५ थान टच मोबाइल, ‘रियलमी’ को १ थान र अन्य ब्राण्डका टच मोबाइलहरू र १ पेटी मोटरसाइकल प्याड लिक्विड नियन्त्र्णमा लिएकाे हाे ।  अवैध रूपमा राजस्व छलेर कर्णाली भित्र्याउन लागिएका यी सामानहरू कसका हुन् र यसमा को-को संलग्न छन् भन्नेबारे प्रहरीले गम्भीरताका साथ अनुसन्धान अघि बढाएको छ । नाकामा कडाइ गरिएसँगै तस्करीमा लागेका समूहहरू निरुत्साहित हुने र आगामी दिनमा पनि बबई नाकामा यस्तो निगरानी झन् सघन बनाइने जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रकाशित मिति : २०८३ असार १६ गते मंगलबार