सुर्खेत । सुर्खेतको भेरीगङ्गा नगरपालिका–१२ स्थित छिन्चु स्वास्थ्य चौकीमा एकदिने बृहत् निःशुल्क एकीकृत विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा विभिन्न रोगका बिरामी तथा सर्वसाधारण गरी कुल ६ सय ३१ जनाकाे उपचार गरिएकाे । ह्याप्पी सोल्स र गोपाल निना फाउन्डेसन नेपालगञ्जको संयुक्त आयोजनामा भएकाे स्वास्थ्य शिविर छिन्चु स्वास्थ्य चौकी, हाम्रो बहिनी सुर्खेत तथा सुर्खेत महिला स्वास्थ्य क्लिनिकको प्राविधिक तथा स्थानीय सहकार्यमा सञ्चालन भएकाे हाे । विपन्न नागरिकहरूलाई समुदायमा सहज, सुलभ र गुणस्तरीय विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको छ ।
शिविरमा बिरामीहरूलाई विशिष्टीकृत सेवा प्रदान गर्न नेपालगञ्ज तथा सुर्खेतका वरिष्ठ कन्सल्टेन्ट सर्जन डा. सोजन सापकोटा, मनोरोग विशेषज्ञ डा. सुशिल समदर्सी, प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. राम विष्ट, हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. गणेश तिवारी तथा कन्सल्टेन्ट जनरल फिजिसियन एवं इमरजेन्सी फिजिसियन डा. सरोज गिरी लगायतका चिकित्सकहरूको टोली सेवा दिएका हुन। शिविरमा विशेष गरी जटिल शल्यक्रिया (सर्जरी) सम्बन्धी समस्या, मानसिक स्वास्थ्य तथा डिप्रेसन, महिला तथा प्रसूति स्वास्थ्य, बाथ, हाडजोर्नी तथा नशारोग, साथै विभिन्न खालका दीर्घ तथा सामान्य मौसमी रोगका बिरामीहरूको सुक्ष्म ढंगले स्वास्थ्य परीक्षण गरिएको थियो। विशेषज्ञ चिकित्सकहरूलाई आफ्नै गाउँ-घरको आँगनमै पाएर रोगको निःशुल्क जाँच र उपचार गराउन पाउँदा स्थानीय बासिन्दाहरू निकै उत्साहित बनेका छन् भने उपचारकै लागि ठूलो रकम खर्च गरेर टाढाका महँगा अस्पतालहरूमा धाउनुपर्ने बाध्यता र सास्तीबाट समेत राहत मिलेको सहभागी स्थानीयहरूले खुसी व्यक्त गरेका छन्।

समाजमा आफ्नै स्वास्थ्यप्रति हेलचेक्र्याइँ गर्ने बानीलाई कम गर्दै नियमित स्वास्थ्य परीक्षणप्रति आम नागरिकलाई समयमै सचेत र जागरुक बनाउन पनि यस्ता कार्यक्रमहरू बढी प्रभावकारी हुने देखिएको छ। यसै मानवीय सेवाको मर्मलाई आत्मसात् गर्दै ह्याप्पी सोल्स र गोपाल निना फाउन्डेसन नेपालगञ्जले आगामी दिनहरूमा पनि कर्णाली र आसपासका दुर्गम, पिछडिएका तथा आधुनिक स्वास्थ्य सेवाको पहुँच कम भएका दुर्गम क्षेत्रहरूमा यस्ता निःशुल्क स्वास्थ्य सेवामूलक कार्यक्रमहरूलाई अभियानकै रूपमा सञ्चालन गर्दै सर्वसाधारणलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यलाई निरन्तरता दिने दृढ प्रतिबद्धता जनाएका छन्।
प्रतिक्रिया दिनुहोस्