२०८३ भदौ ३१ , बुधबार
पानसुर्खेतको तेस्रो अधिवेशन

पालिका स्तरसम्म सङ्गठन विस्तार गरिने



सुर्खेत। सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको गैरराजनीतिक एवं गैरनाफामूलक साझा संस्था ‘प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल’ (पान) सुर्खेतले प्रधानाध्यापकहरूको क्षमता अभिवृद्धि तथा शिक्षा क्षेत्रमा नीतिगत बहसका लागि जिल्लाका सबै स्थानीय तहसम्म सङ्गठन विस्तार गर्ने महत्त्वपूर्ण निर्णय गरेको छ। आइतबार कर्णालीको राजधानी वीरेन्द्रनगरमा भव्यताका साथ सम्पन्न पान सुर्खेतको तेस्रो जिल्ला अधिवेशनले सार्वजनिक शिक्षाको खस्कँदो गुणस्तरमा सुधार ल्याउने, प्रधानाध्यापकहरूको नेतृत्व क्षमता बढाउने र समग्र शैक्षिक रूपान्तरणका विषयमा गहन छलफल गर्दै जिल्लाका सम्पूर्ण सामुदायिक विद्यालयहरूसम्म आफ्नो संस्थागत सदस्यता विस्तार गर्ने नीति पारित गरेको हो। पान सुर्खेतकी सभापति दुर्गा शाक्यका अनुसार विद्यालयहरूमा शैक्षिक उत्कृष्टता कायम गर्न, कुशल नेतृत्वको विकास गर्न एवं विद्यार्थीहरूको गुणस्तरीय शिक्षामा सहज पहुँच प्रवर्द्धन गर्नु नै यस गरिमामय सम्मेलनको मुख्य उद्देश्य रहेको छ।

​सभापति शाक्यले प्रधानाध्यापकहरूको पेसागत, शैक्षिक तथा प्राज्ञिक विकासका लागि विभिन्न पुनर्ताजगी तालिमहरू सञ्चालन गर्न र आपसी समन्वयलाई थप प्रभावकारी बनाउन अब जिल्लाका सबै पालिका स्तरसम्मै ‘पान’ को सङ्गठनलाई बलियो रूपमा विस्तार गरिने योजना अघि सारिएको जानकारी दिइन्। प्रधानाध्यापकहरूलाई एउटै सूत्रमा ऐक्यबद्ध गराउँदै वार्षिक कार्ययोजना (एक्सन प्लान) अनुसार नै विद्यालय प्रशासन र व्यवस्थापनमा व्यापक सुधारका लागि स्थानीय र प्रदेश सरकारलाई नीतिगत सुझाव तथा वकालत गर्ने तयारी संस्थाले गरेको छ। सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको कार्यसम्पादनलाई उत्कृष्ट बनाउन र उनीहरूमा आधुनिक प्रविधिमैत्री प्रशासनिक सीप विकास गर्न पानले स्थापनाकालदेखि नै नेतृत्वदायी भूमिका खेल्दै आइरहेको र आगामी दिनमा पनि विद्यालय प्रशासन, नीतिगत सुधार र विभिन्न शैक्षिक गतिविधिहरूको बलियो समन्वय गर्दै शिक्षा क्षेत्रको दिगो विकासका लागि निरन्तर पहल गरिरहने प्रतिबद्धता सभापति शाक्यले व्यक्त गरिन्।

​सुर्खेतका सामुदायिक विद्यालयका शैक्षिक मुद्दाहरूमाथि मन्थन गरिएको यस अधिवेशनको विशेष अवसरमा पान कर्णाली प्रदेशका सभापति नवराज घिमिरे, महासचिव पूर्णप्रसाद पौडेल, पूर्व जिल्ला सभापति नेत्रप्रसाद चालिसे, वरिष्ठ प्रधानाध्यापक चन्द्रप्रसाद सापकोटा, रुद्रबहादुर खत्री तथा विभिन्न पालिकाका संयोजकहरूले आ-आफ्नो धारणा राख्दै तेस्रो जिल्ला सम्मेलनको पूर्ण सफलताको शुभकामना व्यक्त गरेका थिए। सहभागी वक्ताहरूले राजनीतिक प्रभावभन्दा माथि उठेर सामुदायिक विद्यालयको साख फर्काउन र सरकारी लगानी अनुसारको नतिजा ल्याउन प्रधानाध्यापकहरू नै बढी जिम्मेवार र जबाफदेही हुनुपर्नेमा जोड दिएका छन्।

प्रकाशित मिति : २०८३ असार १४ गते आइतबार