२०८३ साउन १० , आइतबार
काँक्रेविहार महाेत्सव

काँक्रेविहारको विकासका लागि पर्यटकीय गुरुयोजना बनाउँदै वीरेन्द्रनगर



​सुर्खेत। वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले वीरेन्द्रनगरभित्र रहेका ऐतिहासिक तथा पर्यटकीय स्थलहरूको योजनाबद्ध विकास र प्रवर्द्धनका लागि नगरपालिकाले बृहत् पर्यटकीय गुरुयोजना निर्माण गरिरहेको बताएकी छन्। वीरेन्द्रनगर नगरपालिका ९ नम्बर वडा कार्यालयको मुख्य आयोजनामा आइतबार ऐतिहासिक काँक्रेविहार परिसरमा आयोजित ‘काँक्रेविहार पर्यटन प्रवर्द्धन महोत्सव’ को विशेष उद्घाटन सत्रलाई सम्बोधन गर्दै नगर प्रमुख ढकालले यस्तो जानकारी दिएकी हुन्। पुरातात्विक सम्पदाले युक्त काँक्रेविहार केवल ९ नम्बर वडा, वीरेन्द्रनगर नगरपालिका वा कर्णाली प्रदेशको मात्र नभएर सिङ्गो देशकै एउटा प्रमुख पर्यटकीय गन्तव्य भएकाले यसको प्रवर्द्धन, सौन्दर्यीकरण र आवश्यक भौतिक पूर्वाधारको विकास गर्नु नगरपालिकाको पहिलो प्राथमिकताको सूचीमा रहेको उनको भनाइ थियो।

​महोत्सवमा आफ्ना धारणा राख्दै वीरेन्द्रनगरका पूर्व नगर प्रमुख देवकुमार सुवेदीले यस प्रकारका स्थानीय उत्सव र महोत्सवले काँक्रेविहारको बहुआयामिक महत्त्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थप परिचित गराउन ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरे। कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता नारायण कोइरालाले काँक्रेविहार ऐतिहासिक र पुरातात्विक हिसाबले निकै धनी र सम्भावनायुक्त भए पनि यसको उचित प्रवर्द्धन र प्रचारप्रसारमा अझैसम्म सरकारको पर्याप्त ध्यान पुग्न नसकेको गुनासो गरे भने नेकपा (एमाले) का नेता गणेश वलीले काँक्रेविहारको समग्र संरक्षण र प्रवर्द्धनका लागि स्थानीय बासिन्दाका तर्फबाट आफूहरू सधैँ रचनात्मक सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए। महोत्सवलाई रैथाने कला र संस्कृतिसँग जोड्दै सोही अवसरमा विशेष काव्य सन्ध्या, गजल सन्ध्याका साथै स्थानीय नेवार र थारु समुदायको परम्परागत नृत्य एवं सांस्कृतिक देउडा खेल समेत प्रस्तुत गरिएको थियो।

​काँक्रेविहारको विकासका विविध आयामबारे मन्थन गर्न महोत्सवमा दुई वटा महत्त्वपूर्ण प्राज्ञिक सत्रहरूमा प्यानल छलफल (बौद्धिक बहस) समेत चलाइएको थियो। ‘काँक्रेविहार: इतिहास, संस्कृति र पुरातत्वको बहुआयामिक विमर्श’ विषयक पहिलो सत्रमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य–सचिव प्रा.डा. जीवेन्द्रदेव गिरी, पूर्व वन तथा वातावरणमन्त्री माधव चौलागाईं तथा त्रिभुवन विश्वविद्यालय बौद्ध अध्ययन केन्द्रीय विभागकी प्रमुख डा. चन्द्रकला घिमिरेले काँक्रेविहारको ऐतिहासिक जग, सांस्कृतिक विरासत र पुरातात्विक महत्त्वबारे गहन प्राज्ञिक धारणाहरू राखेका थिए, जसको सहजीकरण मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक रेशम विष्टले गरेका थिए। त्यस्तै, ‘काँक्रेविहार: पर्यटन प्रवर्द्धन र समुदायको भूमिका’ विषयक दोस्रो सत्रमा वरिष्ठ बाल रोग विशेषज्ञ तथा लेखक डा. नवराज केसी र कर्णाली प्रदेश सरकारका पूर्व मुख्य न्यायाधिवक्ता ध्रुवकुमार श्रेष्ठले वक्ताका रूपमा समुदायको दायित्वबारे चर्चा गरे भने उक्त सत्रको सहजीकरण पत्रकार प्रकाश अधिकारीले गरेका थिए। महोत्सवको समापन गर्दै वडा नं. ९ का अध्यक्ष ऋषि गिरीले काँक्रेविहार केवल धार्मिक आस्थाको केन्द्र मात्र नभई कर्णाली प्रदेशको बलियो सांस्कृतिक पहिचान, इतिहास र पर्यटन विकासको मुख्य मेरुदण्ड भएकाले यसको संरक्षण, प्रवर्द्धन र दिगो व्यवस्थापनका लागि वडा कार्यालयले आगामी दिनमा पनि यस्ता प्रवर्द्धनात्मक महोत्सवलाई निरन्तरता दिँदै लैजाने दृढ सङ्कल्प दोहोर्‍याए।

प्रकाशित मिति : २०८३ असार १४ गते आइतबार