२०८३ साउन १० , आइतबार
आज काँक्रेविहार पर्यटन प्रवर्द्धन महोत्सव

बौद्धिक विमर्श र काव्य सन्ध्याको विशेष आकर्षण



सुर्खेत । काँक्रेविहार क्षेत्रको ऐतिहासिक, पुरातात्विक र धार्मिक महत्वलाई उजागर गर्ने उद्देश्यका साथ सुर्खेतको वीरेन्द्रनगरमा आज ‘काँक्रेविहार पर्यटन प्रवर्द्धन महोत्सव–२०८३’ को दोस्रो संस्करण भव्य रूपमा सुरु हुँदैछ। वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ कार्यालयको आयोजनामा हुन लागेको यस महोत्सवको उद्घाटन आज विहान ठीक ११:०० बजे काँक्रेविहार परिसरमा विशेष समारोहका बीच गरिने तयारी छ। हिन्दू र बौद्ध संस्कृतिको साझा सङ्गम स्थल तथा धार्मिक सहिष्णुताको प्रतीक मानिएको काँक्रेविहारका बहुआयामिक पक्षहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा व्यापक पहिचान दिलाउन यो महोत्सव आयोजना गरिएको हो। यस वर्षको महोत्सवमा पर्यटकीय सम्भावनाको खोजीसँगै गहन बौद्धिक बहस र साहित्यिक उत्सवलाई मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिँदैछ।

महोत्सवको औपचारिक समुद्घाटनपश्चात काँक्रेविहार परिसरमै शिलशिलेबार रूपमा विभिन्न विमर्श सत्रहरू सञ्चालन हुनेछन्। जसअनुसार पहिलो सत्रमा ‘काँक्रेविहार: इतिहास, संस्कृति र पुरातत्त्वको बहुआयामिक विमर्श’ विषयमा केन्द्रित रहेर प्राज्ञिक बहस हुनेछ। यस सत्रमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य–सचिव प्रा.डा. जीवेन्द्र देव गिरी, नेपाल सरकारका निवर्तमान वन तथा वातावरण मन्त्री माधव चौलागाईं, र त्रिभुवन विश्वविद्यालय बौद्ध अध्ययन केन्द्रीय विभागकी विभागीय प्रमुख डा. चन्द्रकला घिमिरेले वक्ताका रूपमा आफ्ना धारणाहरू राख्नुहुनेछ भने मध्यपश्चिम विश्वविद्यालयका विभागीय प्रमुख डा. रेशम बहादुर विष्टले सहजकर्ताको भूमिका निर्वाह गर्नुहुनेछ।

ऐतिहासिक काँक्रेबिहार मन्दिर
सुर्खेत ६ माघः सुर्खेतको वीरेन्द्रनगर–९ लाटीकाइलीमा रहेको ऐतिहासिक काँक्रेबिहार मन्दिर । बाह्रौँ शताब्दीमा निर्माण भएको, साठी फिट अग्लो काँक्रेविहार शिखर शैलीमा रहेको छ । पुरातत्व विभागले काँक्रेविहारको अवशेषका रुपमा रहेका ढुङ्गाहरूलाई मिलाएर दुई चरणमा गरी चारैतिरबाट खुड्किलाहरूको पुनर्निर्माण गरेको छ। मन्दिरमा बुद्धको जन्म, मायादेवी, बोधगया, सारनाथलगायत बुद्धसँग सम्बन्धित थुप्रै घटना शब्दचित्रमा कुँदिएका छन् । तस्बिरः सुरेश आचार्य÷रासस

पहिलो प्राज्ञिक बहसलगतै दोस्रो सत्र सुरु हुनेछ, जसको मुख्य विषय ‘काँक्रेविहार: पर्यटन प्रवर्द्धन र समुदायको भूमिका’ तय गरिएको छ। काँक्रेविहारको पर्यटकीय विकास र त्यसमा स्थानीय समुदायको सहभागिताका विषयमा केन्द्रित रहने यस सत्रमा वरिष्ठ अधिवक्ता एवम् सामाजिक अभियन्ता भूषण कुमार मानन्धर, सर्जक एवम् बाल रोग विशेषज्ञ डा. नवराज के.सी., र कर्णाली प्रदेश सरकारका पूर्व मुख्य न्यायाधिवक्ता ध्रुव कुमार श्रेष्ठले वक्ताका रूपमा बहस गर्नुहुनेछ भने यो सत्रको सहजीकरण प्रकाश अधिकारीले गर्नुहुनेछ।

बौद्धिक र वैचारिक बहसहरूको समापनपछि महोत्सवलाई थप ऊर्जावान् र सांस्कृतिक बनाउन विशेष साहित्यिक उत्सव ‘काँक्रेविहार काव्य सन्ध्या’ को आयोजना गरिनेछ। यो काव्यिक सत्रमा देशका चर्चित स्रष्टाहरू पुष्पराज आचार्य ‘पीडित’, ऋषि शर्मा ‘सुदामा’, दिपेन्द्र बि.सी. ‘दिपु’, र भरत धमलाले आफ्ना उत्कृष्ट गजलहरू प्रस्तुत गर्नुहुनेछ भने कविहरू गौरव न्यौपाने, बबिता बानियाँ र सोविन्द्र रोकायाले समसामयिक कविताहरू वाचन गरेर दर्शकलाई मन्त्रमुग्ध पार्नुहुनेछ। यस सम्पूर्ण काव्यिक राष्ट्रिय सत्रको सहजीकरण दीपक अभिलाषीले गर्नुहुनेछ।

महोत्सव व्यवस्थापन समितिका अध्यक्ष ऋषि गिरीले काँक्रेविहारको ऐतिहासिक र पुरातात्विक गरिमालाई उकास्न यो महोत्सव कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले यो गौरवमय ऐतिहासिक उत्सवमा सक्रिय सहभागिता र उपस्थितिका लागि सम्पूर्ण पर्यटनप्रेमी, बौद्धिक व्यक्तित्व, सञ्चारकर्मी तथा स्थानीय आम जनसमुदायमा हार्दिक निमन्त्रणा समेत गर्नुभएको छ।

प्रकाशित मिति : २०८३ असार १४ गते आइतबार