सुर्खेत । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले वर्तमान सरकार पूर्ण रूपमा गरिब र उत्पीडितमैत्री हुन नसकेको गम्भीर आरोप लगाएका छन्। पार्टीको विशेष सङ्गठन सुदृढीकरण तथा देशव्यापी भ्रमणका क्रममा शनिबार सुर्खेत विमानस्थल आइपुगेका अध्यक्ष साम्पाङले पत्रकारहरूसँग कुरा गर्दै देशमा महँगी र मूल्यवृद्धिको मारले आम नागरिक आजित भइसक्दा समेत सरकार मौन बस्नु चरम गैरजिम्मेवारीपन भएको बताए। देशका विभिन्न स्थानमा सुकुम्बासीहरूमाथि सरकारले बर्बर धरपकड र अन्याय गरिरहेकाले यो सरकार गरिबको नभएर संभ्रान्त वर्गको मात्रै पक्षपोषक भएको उनको तर्क थियो। सोही क्रममा अध्यक्ष साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहको पछिल्लो कार्यशैली र विवादास्पद अभिव्यक्तिप्रति तीव्र असन्तुष्टि जनाउँदै प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्ति सधैँ संसद् र आम नागरिकप्रति जवाफदेही हुनुपर्नेमा जोड दिए।
प्रधानमन्त्री शाहले नेपाल–भारत सीमा सम्बन्धी संवेदनशील विषयमा दिएको अभिव्यक्ति सरासर गलत र विवादास्पद भएको उल्लेख गर्दै साम्पाङले कि त उक्त भनाइको तथ्यपूर्ण पुष्टि गर्नुपर्ने नत्र तत्काल सार्वजनिक रूपमा सच्याउनुपर्ने माग गरे। यसअघि नेपाल–भारत जग्गा सट्टापट्टा सम्बन्धी विषयलाई लिएर संसद्मा आएका राष्ट्रघाती भनाइहरूलाई संसद्को आधिकारिक रेकर्डबाटै सदाका लागि हटाउनुपर्ने अडान आफ्नो पार्टीको रहेको उनले प्रष्ट पारे। प्रतिपक्षले संसद् अवरुद्ध गरेको भनी सत्तापक्षबाट लाग्ने गरेको आरोपको खण्डन गर्दै साम्पाङले आफूहरूले संसद् अवरोध नगरेको, बरु सदनमा भोका र नाङ्गा जनताको असली आवाज उठाएको दाबी गरे।

पार्टी अध्यक्षको हैसियतले आफू अहिले देशभरका श्रमदाता, मजदुर र सर्वसाधारण नागरिकहरूसँग नियमित भेटघाट तथा जनभावना बुझ्ने विशेष अभियान अन्तर्गत कर्णालीको राजधानी सुर्खेत आइपुगेको उनले बताए। ‘हिजो धरान उपमहानगरपालिकाको नेतृत्व गर्दा मेरो भूमिका एउटा निश्चित क्षेत्र र पालिकामा मात्र सीमित थियो, तर अहिले सांसद र राष्ट्रिय पार्टीको अध्यक्षको रूपमा देशैभरिका नागरिकको ठूलो अपेक्षा बुझ्नुपर्ने र उनीहरूका मुद्दा बोक्नुपर्ने राष्ट्रिय जिम्मेवारी मेरो काँधमा बढेकाले यसरी जिल्ला दौडाहमा निस्किएको हुँ,’ अध्यक्ष साम्पाङले आफ्नो भ्रमणको उद्देश्य प्रष्ट पार्दै भने।
प्रतिक्रिया दिनुहोस्