सुर्खेत । कर्णाली प्रदेश क्रिकेट सङ्घको आयोजना र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आर्थिक तथा प्राविधिक सहयोगमा यही आइतबारदेखि वीरेन्द्रनगरमा प्रदेशस्तरीय ‘कर्णाली कप, २०८३’ टी–२० क्रिकेट प्रतियोगिता भव्य रूपमा सुरु हुने भएको छ। कर्णाली प्रदेशका १० जिल्लाहरूमध्ये यसपटक उत्साहजनक रूपमा ८ वटा जिल्लाका टोलीहरूले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्, जसमा हिमाली जिल्ला मुगु पहिलोपटक प्रादेशिक क्रिकेट प्रतियोगितामा सहभागी हुँदै ऐतिहासिक डेब्यू गर्दै छ। मुगुसँगै साविक विजेता तथा उपविजेताहरू सुर्खेत, दैलेख, कालीकोट, जुम्ला, रुकुम पश्चिम, सल्यान र जाजरकोट जिल्लाका टोलीहरूले पनि यस प्रतियोगितामा आफ्नो दरिलो सहभागिता जनाउने निश्चित भएको छ।

प्रतियोगिताको पूर्वसन्ध्यामा शनिबार सुर्खेतमा आयोजित विशेष पत्रकार सम्मेलनमा बोल्दै नेपाल क्रिकेट सङ्घ (क्याल) का केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश सचिव श्रीधर केसीले यो प्रादेशिक महाकुम्भ आगामी असार १८ गतेसम्म सञ्चालन हुने जानकारी दिए। सचिव केसीका अनुसार वीरेन्द्रनगरस्थित कालुन्चोक क्रिकेट मैदान र वीरेन्द्रनगर क्रिकेट मैदानमा दैनिक रूपमा चारवटा खेलहरू खेलाइने तयारी गरिएको छ। प्रतियोगिताको पुरस्कार राशी र विधागत सम्मानबारे प्रष्ट पार्दै उनले उपाधि विजेता टोलीले नगद १ लाख १ हजार रुपैयाँसहित भव्य ट्रफी प्राप्त गर्ने र उपविजेता बन्ने टोलीले नगद ५१ हजार रुपैयाँ र ट्रफीमा चित्त बुझाउनुपर्ने बताए।
यसैगरी, व्यक्तिगत विधातर्फ प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने ‘प्लेयर अफ दि सिरिज’ घोषित हुने खेलाडीले नगद १० हजार रुपैयाँ र ट्रफी पाउनेछन् भने उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानले जनही नगद ५-५ हजार रुपैयाँका साथै ट्रफी पुरस्कार प्राप्त गर्नेछन्। विधागत पुरस्कार मात्र नभई खेलाडीहरूको खेलको मूल्याङ्कन र हौसला बढाउन प्रत्येक खेलमा सर्वोत्कृष्ट ठहरिने ‘प्लेयर अफ दि म्याच’ खेलाडीलाई समेत नगद २ हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ। सचिव केसीले कर्णालीका कुना-काप्चासम्म क्रिकेटको पहुँच विस्तार गर्न, हरेक जिल्लामा खेलकुदका गतिविधिहरूलाई निरन्तरता दिन तथा भोलिका लागि दक्ष खेलाडीहरू उत्पादन र पहिचान गर्न यो प्रतियोगिता कोसेढुङ्गा साबित हुने विश्वास व्यक्त गरे। पछिल्लो समय कर्णालीका युवाहरूमा क्रिकेटप्रति क्रेज र आकर्षण निकै बढ्दो क्रममा रहेकाले यस्ता प्रतियोगिताले यहाँको खेल क्षेत्रलाई थप व्यावसायिक र चलायमान बनाउने उनको दाबी छ।
प्रतिक्रिया दिनुहोस्