२०८३ साउन ११ , सोमबार
गौरव महिना' समापन

विविधताको सम्मान र आत्मसम्मानका लागि हातेमालो गर्न जोड



सुर्खेत । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको आत्मसम्मान, पहिचान र अधिकारको रक्षाका लागि जुन महिनाभर विश्वव्यापी रूपमा मनाइने गौरव महिना (प्राइड मन्थ) सुर्खेतको वीरेन्द्रनगरमा एक विशेष कार्यक्रमका बीच समापन गरिएको छ। सेभ द चिल्ड्रेन, सीसीआर कर्णाली र कर्णाली इन्द्रेणी आवाजको संयुक्त सहकार्यमा शुक्रबार आयोजना गरिएको उक्त समापन समारोहमा सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, मानव अधिकारकर्मी र नागरिक समाजका सरोकारवालाहरूले समाजमा रहेको विविधताको सम्मान गर्न र यो समुदायमाथि हुने सबै प्रकारका विभेद अन्त्यका लागि १० बुँदे साझा प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै सामूहिक प्रतिबद्धता जनाएका छन्। कार्यक्रममा यस समुदायका व्यक्तिहरूलाई मूलधारमा ल्याउन उत्कृष्ट उद्यमी सम्मान प्रदान गरिनुका साथै समतामूलक एवं समावेशी समाज निर्माणका लागि सबै क्षेत्रका प्रतिनिधिहरूले बलियो प्रतिबद्धता व्यक्त गरे।

​समापन कार्यक्रमका प्रमुख अतिथि एवं कर्णाली प्रदेश योजना आयोगका सदस्य अशोकनाथ योगीले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका अधिकार, पहिचान र सम्मानका लागि समाजका सबै वर्गको हातेमालो र सकारात्मक दृष्टिकोण जरुरी रहेको बताए। उनले यो समुदायको विकासका लागि केवल आश्वासन मात्र नभई उनीहरूमा रहेको विशिष्ट सिप र क्षमतालाई प्रत्यक्ष आयआर्जन तथा स्वरोजगारीसँग जोड्ने गरी आगामी दिनमा ठोस नीति, बजेट तथा कार्यक्रमहरू ल्याउन आवश्यक रहेको औँल्याए। यस्तै, प्रदेश बाल अधिकार समितिका सदस्य डम्बरबहादुर रोकायले सबै समुदायका नागरिकको समान अधिकार र आत्मसम्मानको रक्षाका लागि निरन्तर पैरवी गर्नुपर्नेमा जोड दिए भने नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश समितिका कोषाध्यक्ष ईश्वरराज अधिकारीले सरकार र नागरिक समाजको साझा एवं इमानदार प्रयासबाट मात्र विविधताको सम्मान तथा सबै नागरिकको समान अधिकार सुनिश्चित हुने विचार राखे। कोषाध्यक्ष अधिकारीले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले भोग्नुपरेका विभिन्न सवाल र अधिकारका मुद्दालाई सञ्चार क्षेत्रले सधैँ उच्च महत्त्वका साथ उठाउँदै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

​कर्णाली इन्द्रेणी आवाजका अध्यक्ष अञ्जली विसीको गरिमामय अध्यक्षतामा सम्पन्न भएको यस अर्थपूर्ण समापन कार्यक्रमको सहजीकरण भने सीसीआर कर्णालीका कार्यकारी निर्देशक टेकराज आचार्यले गरेका थिए। कार्यक्रमका वक्ताहरूले हरेक वर्षको जुन महिनालाई विश्वभर यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले आफ्नो अस्तित्व, अधिकार, लामो सङ्घर्ष र विविधताको उत्सवका रूपमा मनाउने गरेको स्मरण गर्दै कर्णाली जस्तो भौगोलिक रूपमा विकट क्षेत्रमा यस्ता सचेतनामूलक कार्यक्रम र १० बुँदे साझा प्रतिबद्धता आउनुले समावेशी समाज निर्माणमा एउटा बलियो इँटा थपेको विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति : २०८३ असार १२ गते शुक्रबार