२०८३ साउन १० , आइतबार
६ जना विद्यार्थीलाई निजी क्षेत्रको सहयोग

आर्थिक रूपमा कमजोकालाइ छात्रवृत्ति र शैक्षिक सामग्री हस्तान्तरण



सुर्खेत । आर्थिक तथा सामाजिक रूपमा कमजोर अवस्थामा रहेका विपन्न विद्यार्थीहरूको शिक्षालाई निरन्तरता दिने र उनीहरूलाई विद्यालयमा टिकाइराख्ने उद्देश्यले निजी क्षेत्रको बलियो सहकार्यमा सुर्खेतका ६ जना विद्यार्थीलाई महत्त्वपूर्ण शैक्षिक तथा आर्थिक सहयोग प्रदान गरिएको छ। पावर फर एडोसेन्स युथ प्रोजेक्ट (पिएवाईपी) को विशेष पहल एवं उद्योग वाणिज्य सङ्घ, सेभ द चिल्ड्रेन, स्याक नेपाल, मुक्तिनाथ विकास बैंक, सानिमा बैंक, नमस्ते नेपाल होटल, लक्ष्मी सनराइज बैंक, न्यु प्रभात स्टेशनरी, होटल थकाली, नवदुर्गा छापाखाना, जागृति मोबाइल सेन्टर र मुना डिजाइन सेन्टर लगायतका निजी क्षेत्रका विभिन्न मनकारी संस्थाहरूको संयुक्त लगानी र सहयोगमा बुधबार एक कार्यक्रमका बीच उक्त सहयोग हस्तान्तरण गरिएको हो। कार्यक्रममा प्रोजेक्टका वरिष्ठ संयोजक प्रेम पुनले निजी क्षेत्र केवल नाफामुखी मात्र नभई आफ्नो सामाजिक उत्तरदायित्वप्रति पनि उत्तिकै प्रतिबद्ध र जिम्मेवार छ भन्ने सकारात्मक सन्देश दिन सन् २०२५ देखि नै यो कल्याणकारी अभियान सुरु गरिएको जानकारी दिए।

वरिष्ठ संयोजक पुनका अनुसार गत वर्ष ९ जना जेहेन्दार विद्यार्थीलाई सफलतापूर्क सहयोग गरिसकिएको र यस वर्ष सुर्खेत जिल्लाभरका कुल ३१ जना विद्यार्थीहरूलाई सहयोग गर्ने लक्ष्य राखिएको छ। विशेष गरी सुर्खेतका कक्षा ९, १०, ११ र १२ मा अध्ययनरत, आर्थिक अभाव तथा अन्य विविध घरायसी कारणले विद्यालय शिक्षालाई निरन्तरता दिन चरम कठिनाइ भोगिरहेका र बीचमै पढाइ छुट्ने जोखिममा रहेका विद्यार्थीहरूलाई लक्षित गरी यो कार्यक्रम सञ्चालन गरिएको हो। हाललाई कक्षा ७, ९, १० र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई सहयोग हस्तान्तरण गरिएको र आगामी दिनमा यसलाई थप विद्यालय तथा विद्यार्थीहरू माझ विस्तार गरिने योजना छ। वास्तविक र आवश्यक परेका विद्यार्थी छनोटका लागि संस्थाका प्रतिनिधिहरू आफैँ विद्यालय तथा घरमै पुगेर उनीहरूको पारिवारिक, आर्थिक र सामाजिक अवस्थाको सुक्ष्म अध्ययन गर्ने, सम्बन्धित विद्यालयबाट आधिकारिक सिफारिस लिने र त्यसपछि मात्र निजी क्षेत्रसँग आवश्यक समन्वय गरी सहयोग जुटाउने पारदर्शी प्रक्रिया अपनाइएको स्याक नेपालका हरिभक्त कोइरालाले जानकारी दिएका छन्।

यस वर्ष सहयोग प्राप्त गर्ने भाग्यमानी ६ जना विद्यार्थीहरूमध्ये कक्षा ९ मा अध्ययनरत गणेश तामाङलाई नमस्ते नेपाल होटलका तर्फबाट १२ हजार रुपैयाँ छात्रवृत्तिबापत प्रदान गरिएको छ। यस्तै, कक्षा ९ कै हिमाल कार्कीलाई न्यु प्रभात स्टेशनरीबाट आगामी दुई वर्षका लागि आवश्यक पर्ने सम्पूर्ण कपि, कलम लगायतका स्टेशनरी सामग्रीहरू उपलब्ध गराइएको छ भने कक्षा १० मा अध्ययनरत विपिन सुनारलाई जागृति मोबाइल सेन्टरमार्फत १२ हजार रुपैयाँ र सुनिल न्यौपानेलाई मुना डिजाइन सेन्टरमार्फत १२ हजार रुपैयाँ छात्रवृत्तिबापत हस्तान्तरण गरिएको छ। यसैगरी, सानिमा बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत ठूलो गुन लगाउँदै दुई जना जेहेन्दार विद्यार्थीहरूको कक्षा ११ र १२ सम्मको सम्पूर्ण शैक्षिक खर्च र शुल्क आफूहरूले नै व्यहोर्ने गरी बलियो प्रतिबद्धता जनाएको छ। कार्यक्रमका सहभागीहरूले आर्थिक अभावकै कारण कुनै पनि बालबालिका शिक्षाको उज्यालो घामबाट वञ्चित हुन नहुने भन्दै निजी क्षेत्रको यस्तो सह्रानीय सहयोगले विद्यार्थीलाई विद्यालयमा टिकाइराख्न र उनीहरूको भविष्य सुन्दर बनाउन ऐतिहासिक योगदान पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई अझै व्यापक बनाउनुपर्नेमा जोड दिएका छन्।

प्रकाशित मिति : २०८३ असार ११ गते बिहीबार