संवैधानिक व्यवस्था अनुसार असार १० गतेभित्रै स्थानीय तहहरूले नयाँ आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याइसक्नुपर्ने बाध्यकारी नियमलाई पालना गर्दै सुर्खेतका सबै नौवटै स्थानीय तहहरूले तोकिएकै समयमा आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट सार्वजनिक गरेका छन्। जिल्लाका सबै पालिकाहरूको कुल बजेटको आकार हेर्दा यस वर्ष सुर्खेतमा कुल ९ अर्ब ७३ करोड ९० लाख ९१ हजार रुपैयाँ बराबरको बजेट आएको छ। नयाँ नीति तथा कार्यक्रम र बजेटको सन्तुलन नियाल्दा अधिकांश पालिकाहरूले नयाँ र नवप्रवर्तनकारी आयोजना ल्याउनुभन्दा पुरानै अधुरा कार्यक्रमहरूलाई निरन्तरता दिएको पाइएको छ। यसका साथै केही ठूला पालिकाबाहेक अधिकांश स्थानीय तहले विकास निर्माण प्रकृतिको पुँजीगत खर्चभन्दा प्रशासनिक र कार्यालय सञ्चालन जस्ता चालुतर्फको खर्च र स्रोत अनुमान झन्डै दोब्बर बढी पेस गरेका छन्। समग्रमा जिल्लाका पालिकाहरूले कृषि क्षेत्रको आधुनिकीकरण, ग्रामीण पूर्वाधार, शिक्षा, स्वास्थ्य, स्वच्छ खानेपानी, स्थानीय स्तरमा रोजगारी सिर्जना, सुशासन प्रवर्द्धन, सार्वजनिक सेवा प्रवाह, आर्थिक समृद्धि, सञ्चार तथा सूचना प्रविधि, युवा तथा महिला सशक्तीकरण एवं पर्यटन प्रवर्द्धन जस्ता उत्पादनमुखी क्षेत्रलाई प्राथमिकतामा राखेर आ-आफ्नो बजेट प्रस्तुत गरेका छन्।
जिल्लाका पालिकाहरूमध्ये सबैभन्दा ठूलो बजेट कर्णालीको राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिकाले ल्याएको छ। वीरेन्द्रनगरले आगामी आर्थिक वर्षका लागि ४ अर्ब ७१ करोड २० लाख ७२ हजार रुपैयाँको आय र व्यय अनुमान गरेको छ। बुधबार आयोजित १९औं नगरसभामा उपप्रमुख नीलकण्ठ खनालले प्रस्तुत गरेको कुल बजेटमध्ये विकासतर्फ उत्साहजनक रूपमा ६४ प्रतिशत अर्थात् ३ अर्ब २ करोड ७० लाख ८२ हजार रुपैयाँ पुँजीगतमा र ३६ प्रतिशत अर्थात् १ अर्ब ६८ करोड ३१ लाख ८९ हजार रुपैयाँ चालुतर्फ विनियोजन गरिएको जानकारी दिए। यसैगरी, पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकाले कुल १ अर्ब ८ करोड रुपैयाँको बजेट ल्याएको छ, जसमा चालुतर्फ ६० करोड र पुँजीगततर्फ ५८ करोड ९२ लाख रुपैयाँ विनियोजन गरिएको छ। अर्को छिमेकी भेरीगंगा नगरपालिकाले आगामी वर्षका लागि ४३ करोड रुपैयाँ बराबरको बजेट प्रस्ताव गरेको छ भने पञ्चपुरी नगरपालिकाले ६९ करोड ६२ लाख ३४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। यता लेकबेंसी नगरपालिकाले कुल ६९ करोड ३९ लाख २४ हजार ६०१ रुपैयाँको बजेट प्रस्तुत गर्दा चालुतर्फ ४६ करोड ४१ लाख ९१ हजार ६०१ रुपैयाँ र पुँजीगततर्फ २२ करोड ९८ लाख ३३ हजार रुपैयाँ विनियोजन गरेको छ।

गाउँपालिकाहरूको हकमा पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाले ६३ करोड ६ लाख ९६ हजार रुपैयाँको बजेट गाउँसभामा प्रस्तुत गरेको छ, जसमा कुल बजेटको ६८ प्रतिशत हिस्सा चालु खर्चमा र ३२ प्रतिशत हिस्सा पुँजीगततर्फ विनियोजन गरिएको छ। अर्को विकट चौकुने गाउँपालिकाले चालुतर्फ ४० करोड ८६ लाख ६६ हजार रुपैयाँ र पुँजीगततर्फ १९ करोड ७५ लाख ५० हजार रुपैयाँ गरी कुल ६० करोड ७४ लाख १६ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ। यस्तै, सिम्ता गाउँपालिकाले चालुतर्फ ४४ करोड ४१ लाख १६ हजार रुपैयाँ र पुँजीगततर्फ १६ करोड २३ लाख १४ हजार रुपैयाँ गरी कुल ६० करोड ६४ लाख ३० हजार रुपैयाँ बराबरको बजेट पारित गरेको छ। जिल्लाकै सबैभन्दा सानो बजेट भने चिंगाड गाउँपालिकाले ल्याएको छ। चिंगाडले कुल ४४ करोड ४६ लाख ३३ हजार रुपैयाँको बजेट ल्याएकोमा चालुतर्फ ३३ करोड १ लाख ८१ हजार र विकास अर्थात् पुँजीगततर्फ मात्र ११ करोड ४४ लाख ५२ हजार रुपैयाँ विनियोजन गरेको छ। समयमै बजेट आएसँगै अब असार मसान्तभित्रै सबै पालिकाले बजेट पारित गरी साउन १ गतेदेखि नै कार्यान्वयनको दिशामा लैजाने तयारी थालेका छन्
प्रतिक्रिया दिनुहोस्