सुर्खेत । पूर्वी सुर्खेतको प्रमखु व्यापारिक केन्द्र र विकसित स्थानीय तहका रूपमा परिचित गुर्भाकोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि आफ्नो नयाँ बजेट सार्वजनिक गरेको छ। बुधबार आयोजित नगरपालिकाको गरिमामय १९ औँ नगरसभाको विशेष बैठकमा उपप्रमुख मैना विकले आगामी आर्थिक वर्षका लागि कुल १ अर्ब ८ करोड ३० लाख ४० हजार रुपैयाँ बराबरको बजेट अनुमान प्रस्तुत गरेकी हुन्। स्थानीय तहको समग्र विकास, पूर्वाधार निर्माण र आर्थिक समृद्धिलाई केन्द्रमा राखेर ल्याइएको यस बजेटमा नगरपालिकाले प्रशासनिक तथा दैनिक कार्य सञ्चालन लगायत चालुतर्फ ६० करोड ४६ लाख ४६ हजार रुपैयाँ विनियोजन गरेको छ भने विकास निर्माण, भौतिक पूर्वाधार र दिगो विकाससँग जोडिएको पुँजीगततर्फ ४७ करोड ८३ लाख ९४ हजार रुपैयाँ छुट्याएको छ।

बजेट प्रस्तुत हुनुअघि नगरसभाको सोही बैठकमा नगर प्रमुख हस्त पुनले गुर्भाकोटको आर्थिक, सामाजिक र शैक्षिक रूपान्तरणका लागि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। नगर प्रमुख पुनले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा र रोजगारी सिर्जनाका क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै नगरवासीको जीवनस्तर उकास्ने योजनाहरू समेटिएका छन्। बुधबार बजेट र नीति तथा कार्यक्रम प्रस्तुत भएसँगै सुरु भएको गुर्भाकोट नगरपालिकाको १९ औँ नगरसभाको यो अधिवेशन बजेटमाथिको विस्तृत दफावार छलफल र पारित गर्ने प्रक्रियाका लागि आगामी असार २७ गते पुनः बस्ने गरी स्थगित भएको छ। स्थानीय स्रोत साधनको अधिकतम उपयोग र सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त अनुदानलाई परिचालन गरी गुर्भाकोटलाई समृद्ध नगर बनाउने लक्ष्य बजेटले लिएको छ।
प्रतिक्रिया दिनुहोस्